काठमाडौं, ११ चैत । पछिल्लो समय बाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक देखिएका छन् । आर्थिक गतिविधि बढ्दै जाँदा बैंकहरुको कर्जा विस्तार आक्रमक रुपमा बढाएका हुन् ।
उद्योगधन्दा, व्यापार व्यवसायले गतिपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन गर्ने भन्दा कर्जाको माग गर्ने धेरै देखिएको छ ।
चैत महिनाको पहिलो सातामा मात्रै बाणिज्य बैंकहरुले २३ अर्बले कर्जा विस्तार गरेका छन् । जवकी यहि सातामा १४ अर्बले मात्रै निक्षेप बढेको छ ।
चालू आवको चैत ६ गतेसम्ममा बैंकहरुले कुल ३८ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। फागुन महिनाभरीमा बैंकहरुमा कुल ३९ अर्ब निक्षेप संकलन गरी झन्डै दोब्बर कर्जा लगानी गरेका छन् ।
वैदेशिक रोजगारमा गएका नेपालीले पढाउने रेमिट्यान्स बढिरहेको छ । साथै साथै कोभिड १९ का कारण होटल तथा मनोरञ्जनका क्षेत्रहरु बन्द हुँदा निक्षेपकर्ताको पैसा जोगिरहेको छ ।
सर्वसाधारणको खर्च भन्दा बचत धेरै हुँदा पछिल्लो समय निक्षेप संकलन बढिरहेको विश्लेषकहरु बताउँछन् । फागुनको पहिलो साता १२ अर्ब निक्षेप संकलन गरी १७ अर्ब कर्जा लगानी गरेका बैंकहरुले त्यसयता हरेक साता २० अर्बभन्दा बढी कर्जा लगानी गरेका छन् ।
फागुन मात्रै बैंकहरुले ९४ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । पछिल्लो ५ सातामा मात्रै बैंकहरुले करिब सवा १ खर्ब ऋण लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार फागुनदेखि चैत पहिलो साता (५ हप्ता) को अवधिमा बैंकहरुले १ खर्ब १७ अर्ब कर्जा लगानी गरेका छन् भने पछिल्लो १ महिनामा १ खर्ब लगानी गरेका छन् ।
बैंकिङ प्रणालीमा तरलता कायमै रहेकाले बैंकहरुले निक्षेप संकलनमा भने खासैध्यान दिएका छैनन् । पछिल्लो ५ हप्ताको अवधिमा जम्मा ५३ अर्ब निक्षेप संकलन भएको छ ।





















