कोरोना खोपको निर्यात रोक्ने भारतको निर्णय, नेपालसहित १ सय ९० देश प्रभावित

काठमाडौं १२ चैत । भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ । देशमा बढ्दो कोरोनासंक्रमणलाई मध्यनजर गर्दै यो निर्णय लिइएको बीबीसीले समाचार लेखेको छ ।

कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले खोपमा रोक लगाइएको समाचरमा उल्लेख छ ।

भारतमा बुधवार यो बर्षकै ठूलो संख्या ४७ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । २ सय ७५ को मृत्यु भएको छ ।

भारतले अप्रिल १ तारिखबाट ४५ वर्षमाथिकालाई खोप कार्यक्रम सुरु गर्न लागेकाले माग बढने ठानिएको छ । भारतको यो कदमले अप्रिलको अन्त्यसम्म खोप आपूर्तिमा असर गर्ने बताइएको छ । भारतको निर्णयबाट कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर पर्नेछ ।

नेपालमा धेरैले खोपको दोस्रो खेप नपाउने सम्भावना बढेर गएको छ । नेपालसँग करिब ७ लाख डोज खोप मात्र बाँकी रहेको छ । जुन पहिलो चरण खोप लगाएकाहरुलाई मात्र पुग्छ ।

भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डियाले थुप्रै देशमा एस्ट्राजेनेका खोप पठाउने काममा ढिलाइ गरेको छ । त्यसको असर बेलायत र ब्राजिलमा परिसकेको छ ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोड भन्दा बढी खोप निर्यात गरिसकेको छ । भारत सरकारले जनवरी १६ तारिखबाट खोप कार्यक्रम शुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here