टेलिकमद्धारा ४० रुपैयाँ लाभांश पारित

काठमाडौं, १४ चैत । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (टेलिकम) को शुक्रबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको छ ।

शुक्रबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

त्यस्तै, सभाले कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य समेत चयन गरेको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेगरी अम्बिका प्रसाद पौडेललाई निर्विरोध चयन गरेको हो ।

नवनिर्वाचित सञ्चालक पौडेलले आफुलाई सञ्चालक पदमा निर्वाचित गराई कार्य गर्ने अवसर दिएकोमा सम्पूर्ण सर्वसाधारण शेयरधनी र कर्मचारी शेयरधनीहरु प्रति आभार व्यक्त गर्दै आफुले पाएको विश्वासलाई कार्य क्षेत्रमा इमान्दारितापूर्वक निर्वाह गर्ने बताए ।

उनले शेयरधनीहरुलाई उचित प्रतिफल, कर्मचारीहरुलाई उचित प्रोत्साहन र दूरसञ्चार सेवालाई अझै सर्वसुलभ तथा गुणस्तरीय बनाउनको लागि कार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

लकडाउन अवधिमा कम्पनीले टपअपमा प्रदान गरेको शत प्रतिशत वोनस, जिरो व्यालेन्स प्याकेज, मोबाइल इन्टरनेट सेवाको आधारभूत दरमा प्रदान गरिएको २७ देखि ३० प्रतिशतसम्मको छुट, कोरोना राहत कोषमा कम्पनीको तर्फबाट रु. १० करोड र कर्मचारीको तर्फबाट रू. २ करोड गरी जम्मा १२ करोड योगदान गरेको छ ।

यसका साथै आर्थिक वर्ष २०७६/७७ मा कर तथा गैह्रकर वापत सरकारी राजस्वमा रू.३५ अर्ब ५ करोड बुझाउन कम्पनी सफल भएको टेलिकमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here