७० प्रतिशत बढ्यो शेयर कर्जा, ७ महिनामा ७७ अर्ब ३५ करोड प्रवाह

काठमाडौं, १४ चैत । बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा प्रवाह गर्ने कर्जा ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले ७७ अर्ब ३५ करोड रूपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेका छन् ।

यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ७०.६० प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको माघ मसान्तसम्म जम्मा ४५ अर्ब ३५ करोड रुपैयाँ शेयर कर्जा लगानी गरेका थिए ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले चालू आवको ७ महिनामा मात्रै थप २६ अर्ब ९५ करोड शेयर कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

गत असार सम्ममा बैंकहरुले ५० अर्ब ४० करोड रुपैयाँ शेयर कर्जा लागनी गरेका थिए । ७ महिनामै त्यस्तो कर्जा लगानी ५३.५ प्रतिशतले वृद्धि भई ७७ अर्ब ३५ रुपैयाँ पुगेको छ ।

कोरोनाको प्रभाव कम हुँदै गए पनि अझै अर्थतन्त्रका सबै क्षेत्र सामान्य अवस्थामा फर्किन सकेका छैनन्, जसकारण ती क्षेत्रबाट अपेक्षित रूपमा धेरै कर्जा माग हुन सकेको छैन ।

तर शेयर बजार भने निरन्तर रूपमा उकालो लागिरहेको छ । यही अवसरको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाले शेयर कर्जा विस्तार गरेका हुन् ।

पछिल्लो १ वर्ष यता बैकिङ प्रणालीमा अधिक तरलता छ । जसले बैंकको ब्याजदर निकै सस्तो भएको छ । गत वर्ष १२ प्रतिशतसम्म रहेको बैंकको ब्याजदर अहिले ९ प्रतिशतभन्दा तल झरेको छ ।

जसले गर्दा सस्तो ब्याजमा ऋण लिएर शेयरमा लगानी गर्नेको संख्या बढेको हो । अहिले बैंक तथा वित्तीय संस्थाले करिब ७ देखि ९ प्रतिशतमा ब्याजदरमै शेयर कर्जा दिँदै आएका छन् । जबकी गत वर्ष बैंकहरुले सेयर कर्जामा १३ देखि १५ प्रतिशतसम्म ब्याज लिने गरेका थिए ।

यस्तै, नीतगत व्यवस्थामा आएको सुधारले पनि शेयर कर्जा लगानी बढेको हो । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको सीमा बढाएको थियो । जसको प्रभाव कर्जा विस्तारमा देखिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो (मार्जिन) कर्जा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको थियो । यस्तै, मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयर धितोको मूल्यांकन गर्दा १८० दिनलाई (औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ) घटाएर १२० दिनको मूल्यको आधारमा गर्ने व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here