२० अर्बले घट्यो वैदेशिक लगानी प्रतिवद्धता, जलविद्युत क्षेत्रमा लगानी शून्य

फाइलफोटो

काठमाडौं, १८ चैत । जलविद्युत क्षेत्रमा वैदेशिक लगानी शून्यमा झरेको छ । उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा जलविद्युत क्षेत्रमा एउटापनि वैदेशिक लगानीको प्रतिवद्धता आएको छैन् ।

अघिल्लो आर्थिक वर्षमा जलविद्युतको ५ वटा आयोजनामा ११ अर्ब ८२ करोड रुपैयाँ बारबरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो ।

विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा अन्य क्षेत्रमा पनि वैदेशिक लगानी प्रतिवद्धतामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा १ सय ७७ वटा क्षेत्रमा लगानी प्रतिवद्धता आएकोमा यो वर्ष भने १ सय ३६ वटामा मात्रै प्रतिवद्धता आएको छ ।

२० अर्बले घट्यो लगानी

वैदेशिक लगानीको रकममा पनि चालू आर्थिक वर्षमा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको चैत १७ गतेसम्म ४२ अर्ब ९६ करोडको लगानी प्रतिवद्धता आएकोमा यो वर्ष झण्डै २० अर्बले कमी आएको छ ।

विभागको तथ्यांक अनुसार यो वर्ष २४ अर्ब ४८ करोड रुपैयाँको मात्रै लगानी प्रविद्धता आएको छ ।

रोजगारी सिर्जनामा पनि झण्डै ६ हजारले कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा ९ हजार ६० जनाले रोजगारी पाएकोमा चालु आर्थिक वर्षको सोही समयमा भने ३ हजार ८ सय ८४ जनाले मात्रै रोजगारी पाउने विभागको तथ्यांकले देखाउछ ।

पर्यटन क्षेत्रमा लगानी बढ्यो

विभागको तथ्यांक अनुसार विभिन्न ६ समुहमा आएको वैदेशिक लगानीमा पर्यटन क्षेत्रमा मात्रै बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा पर्यटन क्षेत्रको विभिन्न ६७ वटा आयोजनामा लगानी प्रतिवद्धता आएकोमा चालु आर्थिक वर्षको चैत १७ गतेसम्ममा ७९ वटा आयोजना लगानी प्रतिवद्धता आएको छ ।

विभागको तथ्यांक अनुसार लगानी रकममा पनि निकै वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चैत १७ गतेसम्म पर्यटन क्षेत्रमा ८ अर्ब ९२ करोड रुपैयाँको मात्रै वैदेशिक लगानी प्रतिवद्धता आएकोमा यो वर्ष ६ अर्बभन्दा धेरै बढ्दै १५ अर्ब ५८ करोड रुपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

पर्यटन क्षेत्रले सिर्जना गर्ने रोजगारीमा भने कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा २ हजार ६ सय १६ जनालाई रोजगारी सिर्जना गरेको पर्यटन क्षेत्रले यो वर्ष भने २ हजार ५६ जनाको लागि मात्रै रोजगारी सिर्जना गरेको विभागको तथ्यांकले देखाउछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here