काठमाडौं, २० चैत । कोरोना संक्रमणपछि ठप्पजस्तै भएको पर्यटन आगमन बढ्न थालेको छ ।
अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार मार्च महिनामा मात्रै १४ हजार ९ सय ७७ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या विगत एक वर्ष यताकै उच्च हो ।
विभागको तथ्यांक अनुसार मार्चमा ११ हजार दुई पुरुष, तीन हजार ९६३ महिला र १२ अन्य नागरिक नेपाल आएका छन् ।
मार्चमा भित्रिएको १५ हजार पर्यटक सहित सन् २०२१ को पहिलो तीन महिनामा नेपाल भित्रिने कुल पर्यटकको संख्या ३२ हजार ९ सय ९७ जना पुगेको छ ।
भारतबाट मात्रै आधाभन्दा धेरै
मार्च महिनामा नेपाल आएका कुल पर्यटक मध्ये भारतबाट मात्रै आएका पर्यटकको संख्या आधाभन्दा धेरै छ ।
मार्च महिनामा मात्रै भारतबाट ७६५८ जना पर्यटक नेपाल आएका छन् । भारतबाट हरेक महिनामा पर्यटक आगमनमा उच्च दरमा बढिरहेको छ । यसअघि जनवरी र फेब्रुअरी महिनामा भारतबाट ८७९१ जना पर्यटक नेपाल आएका थिए ।
भारतपछि दोस्रो धेरै संख्यामा पर्यटक आएको देश अमेरिका हो । अमेरिकाबाट मार्च महिनामा मात्र १७०३ जना पर्यटक नेपाल आएका छन् ।
तेस्रो स्थानमा चीन रहेको छ । चीनबाट १२०७ जना पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ । चौथो स्थानमा बेलायत रहेको छ । यहाँबाट ६६५ जना नेपाल आएको तथ्यांक छ । यस महिनामा बंगलादेशबाट भने ५६८ जना पर्यटक आएका छन् ।