सिंगटी हाइड्रोको आइपीओ बाँडफाँड, यस्तो छ नतिजा हेर्ने सजिलो तरिका

काठमाडौं, २७ चैत । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक शेयर (आइपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको आफ्नै कार्यालयमा शुक्रबार बिहान ११ बजे आइपीओ बाँडफाँड भएको हो ।

कम्पनीले चैत्त ६ देखि १० गतेसम्मका १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।

क्यापिटलका अनुसार गोलप्रथाबाट भाग्यमानी २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको छ।

आइपीओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट शेयर माग भएको थियो । त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको मेघा क्यापिटलले जनाएको छ । कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो।

त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।

कम्पनीले हाल दोलखामा २५ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ५ अर्ब ५० करोड रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ ।

यसरी हेर्नुहोस् नतिजा

आइपीओको नतिजा हेर्न लगानीकर्तालाई धेरै सास्ती पर्ने गरेको छ । यही समस्यालाई समाधान गर्दै सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि नयाँ तरिका अपनाएको छ ।

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

नतिजा सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक मेगा क्यापिटल र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट पनि हेर्न पाइनेछ ।

भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्न बताइएको छ । यद्यपी रिजल्ट हेर्न मिल्ने गरी उपलब्ध गराइएका वेवसाइटहरु नतिजा अगाडि नै खुल्न समस्या देखिन थालिसकेकाले लगानीकर्ताले नतिजाका लागि भने सअज रुपमा हेर्न पाउने अवस्था देखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here