वैदेशिक लगानी ९७ प्रतिशत घट्यो, पर्यटनमा क्षेत्रमा लगानीकर्ताको मोह कायमै

काठमाडौं, २९ चैत । वैदेशिक लगानी ९७ प्रतिशत घटेको छ । उद्योग विभागको तथ्यांक अनुसार गत वर्षको तुलनामा यो वर्ष वैदेशिक लगानी ९७ प्रतिशत घटेको हो । उक्त संख्या गतवर्ष चैतदेखि यसवर्षको चैत २६ गते सम्मको हो ।

गत वर्ष कुल २ खर्ब ३८ अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएकोमा यो वर्ष ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको विभागको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्ष कुल ३ सय ४२ उद्योग दर्ता भएकोमा यो वर्ष भने ६० वटा मात्रै उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै सेवा क्षेत्रमा २८ वटा उद्योग दर्ता भएका छन् ।

पर्यटनमा विदेशी लगानीकर्ताको मोह

पर्यटन उद्योग वैदेशिक लगानीको लागि प्रमुख विकल्प बनेको विभागको तथ्यांकले देखाएको छ । कोरोना संक्रमणको कारण अघिल्लो वर्षको तुलनामा पर्यटन क्षेत्रको लगानी कम आएपनि समग्रमा पर्यटन क्षेत्रमा भित्रिएको वैदेशिक लगानीलाई निकै सकारात्मक मानिएको छ ।

अघिल्लो वर्ष १०६ वटा पर्यटन उद्योगमा २२ अर्ब ७१ करोड लगानी प्रतिवद्धता आएकोमा यस वर्ष २१ उद्योगमा २ अर्ब ४० करोड रुपैयाँको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । अघिल्लो वर्ष ५ हजार ९१ जनालाई रोजगारी सिर्जना गरेको यस क्षेत्रले यो वर्ष भने ५९१ जनालाई मात्रै रोजगारी सिर्जना गरेको छ ।

१९ हजारको रोजगारी गुम्यो

लगानी घटेसंगै रोजगारीको संख्यामा पनि कमी आएको छ । अघिल्लो वर्ष वैदेशिक लगानीको उद्योगमा कुल २१ हजार ६ सय १४ जनाले रोजगारी पाएकोमा यो वर्ष २ हजार ३ सय ६६ जनाले रोजगारी पाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here