चिनियाँ ई-कमर्स कम्पनी अलिबाबामाथि २ अर्ब ७५ करोड डलर जरिवाना

एजेन्सी । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरु उल्लंघन गरेको आरोपमा त्यहाँको सरकारले २ अर्ब ७५ करोड अमेरिकी डलर जरिवाना गरेको छ । यो रकम करीब ३ खर्ब नेपाली रुपैयाँ बराबर हो ।

यो चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो ।

क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पुर्‍याएको आरोप लागेको थियो । रोयटर्सका अनुसार अलिबाबाले सन् २०१९ मा गरेको आम्दानीको करीब ४ प्रतिशत जरिवानामा मात्रै बुझाइसकेको छ । त्यहाँको बजार नियमनकारी निकाय स्टेट एडमिनेस्ट्रेसन फर मार्केट रेगुलेसन(एसएएमआर) ले गत डिसेम्बरदेखि उक्त कम्पनी बारे अनुसन्धान गरिरहेको थियो ।

एसएएमआरले उक्त कम्पनीले चीनको एन्टीमोनोपोली कानून उल्लंघन गरेको बताएको छ । उता अलिबाबाले भने चिनियाँ सामाजिक सञ्‍जाल वेइपोमार्फत एसएएमआरको निर्णय मान्ने र व्यावसायिक सुधार गर्दै लैजाने बताएको छ ।

चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महीनादेखि अनुसन्धान र छानबिन गरिरहेको रोयटर्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

गत नोभेम्बरमा चिनियाँ वित्तीय नियामक निकायहरुले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी एन्ट ग्रुपले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको आईपीओ निष्कासन रद्दसमेत गरिदिएका थिए ।

अलिबाबाका संस्थापक एवम् अर्बपति व्यापारी ज्याक माले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेका थिए र त्यसपछि लगत्तै नियमनकारी निकायले कम्पनीका कारोबारहरु बारे निगरानी बढाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here