उद्योग वाणिज्य महासंघको १० वर्षे भिजन पेपर सार्वजनिक, अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने लक्ष्य

काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले राष्ट्रिय आर्थिक रूपान्तरण २०३० पुस्तक (भिजन पेपर) सार्वजनिक गरेको छ।

महासंघको को ५५औं वार्षिक साधारण सभाले अबको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित भिजन पेपर तयार पारेर सार्वजनिक गरेको हो।

सार्वजनिक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र निजी क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३०’ को मार्गचित्र तयार पारिएको बताए ।

भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्षभित्र मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको पुर्‍याउने र दिगो उच्च आर्थिक वृद्धिमार्फत् अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ।

गोल्छाले भिजन पेपर इमान्दारीपूर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलर भन्दा बढी लगानी हुने विश्वास व्यक्त गरे। उनले बजेटको आकार बढाएर मात्रै विकास सम्भव नभएको भन्दै अनुत्पादक क्षेत्रको खर्चमा बजेट कम गर्न सुझाव दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here