नेपालमा गैंडाको संख्या ७५२ पुग्यो, ६ वर्षमा १०७ वटा थपिए

काठमाडौं, २८ चैत । नेपालमा एकसिंगे गैंडाको संख्या बढेको छ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्जमा एकसिंगे गैंडाको संख्या ७५२ पुगेको छ।

शनिवार सार्वजनिक गरिएको गणना अनुसार ६ वर्षमा १०७ वटा गैंडा थपिएको हो । पछिल्लो पटक सन् २०१५ मा गैंडाको गणना गरिएको थियो।

उक्त गणनामा चितवन निकुञ्जमा ६०५ वटा एक सिंगे गैंडा भेटिएका थिए भने देशभरमा ६ सय ४५ वटा गैंडा भेटिएका थिए।

उक्त गणनाभन्दा यसपटक गैंडाको संख्या बढेको छ। राष्ट्रिय गैंडा गणना २०७७ अनुसार चारवटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हाल ७५२ वटा गैंडा छन् ।

यसमध्ये १३६ वटा बच्चा छन् भने ९६ अर्ध वयस्क र ५२० वटा वयस्क गैंडा छन् ।

सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा छन् । त्यहाँ मात्र ६९४ वटा गैंडा रहेको राष्ट्रिय गणनाका क्रममा पाइएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ३८ वटा गैंडा रहेको पाइएको छ । यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन् । सन् २०१५ को गणनायता चितवन निकुञ्जमा मात्रै १६१ वटा गैंडा मरिसकेका छन्।

तीमध्ये ६ वटालाई सिकारीले मारेका थिए। अन्य प्राकृतिक कारणले मरेको निकुञ्जले बताउने गरेको छ। यस वर्षमात्रै प्राकृतिक कारणबाट २२ र सिकारीबाट ४ वटा गैंडा मरेका छन्। सन् २०१५ अघि सन् १९९४, २०००, २००५ र २०११ मा गैंडाको गणना गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here