आइतबार शेयर बजार नखुल्ने

काठमाडौं, २९ चैत । आइतबार शेयर बजार(नेप्से) बन्द रहने भएको छ। सरकारले आइतबार घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकासँगै नेप्से नखुल्ने भएको हो।

आइतबार उपत्यकामा विदा हुने भएपछि नेप्सेको कार्यालय सहित उपत्यका तथा बाहिर रहेका शेयर दलालको कार्यालयबाट समेत शेयर कारोबार हुँदैन।

गृह मन्त्रालयले उपत्यकामा परम्परागत घोडेजात्रा आइतबार परेकाले सार्वजनिक विदा दिईएको जनाएको छ। नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्छन् ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडेजात्रा मनाउने गरिएको विश्वास छ ।

गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ ।

कोरोना संक्रमणको त्रास बढेकाले यस वर्ष थोरै पाहुनालाई बोलाएर घोडेजात्रा आयोजना गर्न लागिएको नेपाली सेनाले जानकारी दिएको छ । कोरोना संक्रमणको त्रासका कारण लकडाउन गरिएपछि गतवर्ष यो पर्व रोकिएको थियो ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here