काठमाडौं, ३० चैत । उपभोक्ता मुद्रास्फीति बढेको छ ।नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को ८ महिनासम्मको तथ्यांक अनुसार देशको आर्थिक स्थितिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति बढेको जनाइएको छ । २०७७ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत रहेको थियो भने चालु आर्थिक वर्षको माघ महिनामा २.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको छ ।
२०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तिजन्य वस्तुहरु र दाल तथा गेडागुडी उपसमूहको मुल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ फागुनमा यी क्षेत्रहरुमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
यस्तै समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोम मुद्रास्फीति पनि बढेको छ । २०७७ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.३० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५७ प्रतिशत रहेको थियो भने माघ महिनामा ६.१२ प्रतिशत थियो