यसरी निकाल्नुहोस् घरमै बसेर ‘मेरो कित्ता’ बाट घरजग्गाको नक्सा

काठमाडौं, २ बैशाख । अबदेखि घरमै बसेर अनलाइनबाटै आफ्नो घरजग्गाको नक्सा हेर्न,आफैं प्रिन्ट गर्न मिल्ने भएको छ । सरकारले आजदेखि ‘मेरो कित्ता’ प्रणाली शुभारम्भ गर्दै यस्तो सुविधा ल्याएको हो ।

नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर यो व्यवस्थाको शुभारम्भ गरेका हुन् ।

यससँगै यो प्रणाली प्रयोग गरेर सेवाग्राहीले इन्टरनेटमार्फत् नक्सा प्रिन्ट, प्लट रजिस्टर प्रिन्ट, फिल्डबुक प्रिन्ट पाउनुका साथै फिल्ड रेखाङ्कनको निवेदन दिन सक्ने विभागले जनाएको छ।

कसरी लिने सेवा

‘मेरो कित्ता’ को वेबसाइट लगइन गरेर यो सेवा लिन सकिन्छ । यसबाट सेवा लिनको लागि पढ्न र बुझ्न सकिने १ MB वा सो भन्दा सानो साईजमा जग्गाधनी प्रमाणपुर्जाको स्क्यान कपी हुनु पर्नेछ ।

त्यस्तै पढ्न र बुझ्न सकिने १ MB वा सो भन्दा सानो साईजमा प्रमाणपुर्जामा अवस्थित जग्गाधनीको नागरिकताको स्क्यान कपी हुनु पर्नेछ ।

त्यसपछि माथी भने अनुसारको विवरणहरु जम्मा गरी सेवा लिने निवेदनको फारम भरी विवरण पेश गर्नुपर्नेछ ।

आफुले पेश गरेको निवेदनको अवस्था बारेमा पनि अनलाइन प्रणालीमा मोबाइल नम्बर र त्यसमा आउने ओटीपी कोड हालेर बुझ्न सकिनेछ ।

ओटीपी कोड सेवाको अवधिभर सो कोड आवश्यक हुने विभागले जनाएको छ।

कार्यालयहरुबाट सेवाको विवरण जाँच भएपछि तिर्नुपर्ने राजश्व रकम एसएमएसबाट रजिस्टर गरिएको मोबाइलमा प्राप्त हुनेछ।

सेवाग्राहीले राजस्व तिर्न मेरो कित्ताको आधिकारिक वेबसाइटमा गएर मोबाइल नम्बर र ओटीपी प्रयोग गरी प्रणालीमा जोडिएका विद्युतीय माध्यम वा भौचर प्रिन्ट गरी सम्बन्धित बैंकबाट दाखिला गर्न सक्ने विभागले जनाएको छ।

भुक्तानी प्राप्त भएपछि सम्बन्धित नापी कार्यालयहरुले नक्साको डिजिटल कपी अपलोड गरी सेवाग्राहीको मोबाइलमा एसएमएस पठाउने बताइएको छ।

उक्त नक्सा प्राप्त गर्न सेवाग्राहीले पुन: मोबाइल नम्बर र ओटीपी प्रयोग गरी प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीहरुले उक्त नक्सा एक हप्ता भित्र डाउनलोड गर्नुपर्ने जनाएको छ।

यदि तपाईंहरुलाई डिजिटल PDF फाईललाई प्रिन्ट गर्नु परेमा, सो फाईललाई कुनै पनी Standard PDF viewer मा खोली प्रिन्ट गर्दा Custom Scale मा 100% दिई प्रिन्ट गर्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here