काठमाडौं, ९ बैशाख । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको अन्तिम खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो। नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९ दमलव १ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो ।
मलेसियाका लागि अमीनुदिन रामलीले ४१ र कप्तान अहमद फैजले ३१ रन बनाएपनि अन्य ब्याट्सम्यानले सम्झनलायक प्रर्दशन गर्न सकेनन् ।
नेपालका लागि साेमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए। साेमपालले ४ ओभरमा २० रन दिए भने सन्दीपले ४२ रन दिए।
यता कमल सिंह ऐरीले २ विकेट लिए। उनले ३ ओभरमा १६ रन दिए। सुशन भारीले ३ ओभरमा ३५ रन दिएर एक विकेट लिए।
नेपालले अलराउण्डर करण केसीको विष्फोटक व्याटिङको मद्तमा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।
नेपालका लागि करण केसीले १३ बलमा ७ छक्काको मदतमा ४५ रनको विष्फोटक इनिङ खेलेका थिए । आसिफ सेखले ३२ बलमा ४२ कुशल भुर्तेल १२ बलमा १६ र ज्ञानेन्द्र मल्लले २५ बलमा ४१ रन जोडे । दिपेन्द्रसिंह ऐरीले ३३ कुशल मल्लले १९ र विनोद भण्डारीले ८ रनको योगदान गरेका थिए ।
यो जितसँगै चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको छ । नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससंग खेल्नेछ ।