लाप्राक नमूना वस्तीका स्थानीयले पाए नयाँ घर, पाँच वर्षमा ठडियो गाउँ

काठमाडौं, ९ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पुनर्निर्माण गरेको गोरखा जिल्लाको लाप्राक नमूना वस्ती लाभग्राहीलाई हस्तान्तरण गरेको छ ।

एनआरएनएका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोह वीच बिहीबार नमूना बस्तीका घरहरु लालपूर्जासहित धार्चे गाउँपालिकाका स्थानीयलाई हस्तान्तरण गरेका हुन् ।
उनीहरुले दाताहरुको नाम भएको शिलापत्रको अनावरण पनि गरे ।

वि. सं. २०७३ बैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको उपस्थितिमा सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली सं वीच त्रिपक्षीय सम्झौता भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको विध्वंशकारी भूकम्पका कारण प्रभावित गोरखा जिल्लाको लाप्राकस्थित धार्चे गाउंपालिका वडा नम्बर ४ मा गैरआवासीय नेपाली संघको प्रत्यक्ष सक्रियतामा ५ सय ७३ वटा निजी आवास निर्माण सम्पन्न भएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पूर्वाधार बिकासको लागि प्राधिकरणले प्रति घर ४ लाख रुपैयाँ (कुल २३ करोड रुपैयाँ) रकम उपलब्ध गराउने वताए ।

पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ती निर्माण भएको र त्यसको सम्भार गर्न अझ कठिन र महत्वपूर्ण रहेको बताए ।

संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाले झण्डै ५७ करोड ६६ लाख रुपैयाँमा सो बस्ती निर्माण भएको जानकारी दिए । त्यसैगरी धार्चे गाउँपालिकाका अध्यक्ष सन्त बहादुर गुरुङले सरकार र गैरअवासीय नेपाली संघलाई धन्यवाद दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here