‘कोरोनाको दोस्रो लहर डरलाग्दो ढंगले फैलिनसक्छ’

काठमाडौं, १३ बैशाख । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् ।

सोमबार टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका हुन् ।

जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि बताए ।

कोभिडको दोस्रो लहर दुनियाकै सामुन्नेमा चुनौतिको रुपमा देखा परेको छ । हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आकलनहरु गरिएको छ’ उनले भने, ‘हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा सर्वाधिक प्राथमिकताको\सरोकारको विषय बन्न पुगेको छ ।

जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई पुरानै लयमा फर्काउने र गतिशील बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं ।’

अर्थमन्त्री पौडेलले संक्रमण बढ्न सक्ने भन्दै यस्तो बेला कसैले पनि लापरबाही गर्नु नहुने बताए । सरकारले सबै प्रकारका सम्भाव्य उपायहरु अवलम्बन गरेर कोभिड विरुद्धको लडाईलाई जित्न चाहेको उल्लेख गर्दै उनले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here