सुपथ मूल्य पसल १२ घण्टा खुल्ने, उपत्यकामा नि:शुल्क होम डेलिभरी

काठमाडौं, १७ बैशाख । निषेधाज्ञाको समयमा सर्वसाधारणलाई कुनै समस्या नपरोस भनेर सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसल दैनिक १२ घण्टा खुल्ला रहने भएको छ ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अत्यवश्यक सामग्री नागरिकले सहजै प्राप्त गरून् र बजारमा कालोबजारी हुन नपाओस् भनेर दैनिक १२ घण्टा बिक्री केन्द्र खुला राख्न लागेको सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदी जानाकारी दिईन् ।

निषेधाज्ञामा नागरिकलाई दैनिक उपभोग्य वस्तुको अभाव नहोस् भनेर बिहान ७ बजेदेखि राति ७ बजेसम्म कम्पनीका बिक्री केन्द्र खुला राखिएको सूचना अधिकारी सुवेदीले क्लाउड पत्रिकालाई बताइन् ।

‘हाम्रो नयाँ पसल होइन् दशैदेखि शुरु गरिएको पसल निरन्तर नै चलिरहेको छ, बन्दाबन्दीको अवस्थामा पनि रोगको संक्रमणको जोखिम हुने भएकाले भिडभाड नहोस् भनेर ग्राहकको सहजताका लागि दिनभर नै खुला राखिएको उनले क्लाउड पत्रिकासँग भनिन्’ ।

थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायकमा सरकारी पसल सञ्चालनमा रहेका छन् । यी पसलहरुबाट नागरिकले सुपथ मूल्यमा खरिद गर्न पाउनेछन् ।

ती स्थानमा बासमतीसहित, जुम्ली, मार्सी, कर्णालीको सिमी, घ्यू, तेल, स्यानिटाइजर लगायतका वस्तु पाइनेछन्।

यसैबीच कम्पनीले गएकाे वर्षको लकडाउनको समयमा सुरु गरेको अनलाइन डेलिभरी सेवा यो पटक पनि प्रभावकारी रूपमा चलिरहेकाे जनाएको छ ।

ग्राहकले सस्तो डिलको वेबसाईट वा मोबाइल एप प्रयोग गरी अर्डर गर्न सक्नेछन् । हाल दाल, चामल, नुन, डिडिसिका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ ।

सुपथ मूल्यका सामग्री ग्राहकले अनलाइनबाटै माग गरेमा निःशुल्क डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

उपभोक्ताले www.napalfood.gov.np बाट चक्रपथभित्र र www.sastodeal.com मार्फत काठमाण्डौ उपत्यकाभरि नै खाद्य सामग्री घरघरमै पुर्‍याउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कोरोना भाइरसलाई देखाउँदै बजारमा कालोबजारी बढेपछि सरकारले यस अघिको लकडाउनमा पनि आफै पसल सञ्चालन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here