आर्थिक वृद्धिदर ४ प्रतिशत हाराहारी रहने अनुमान, कुन क्षेत्र बढ्यो, कुन खुम्चियो ?

काठमाडौं, १७ बैशाख । चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारी पुग्ने संशोधित अनुमान सरकारले गरेको छ ।

शुक्रबार आव २०७७/ ७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै केन्द्रिय तथ्यांक विभागले नेपालका आर्थिक वृद्धि ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको हो ।

यो वृद्धिदर आधार मूल्यका आधारमा हो । उपभोक्ता मूल्यका आधारमा चालु आवमा ४.०१ प्रतिशतको आर्थिक वृद्धि हुनेछ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार बढेर ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ पुगेको अनुमान विभागको छ ।

यसअघि जीडीपीको आकार ३९ खर्ब १४ अर्ब ७० करोड रुपैयाँ थियो । यसबीचमा जीडीपीको आकार ३ खर्ब रुपैयाँ बढेको विभागको प्रारम्भिक अनुमान छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्म कोरोना महामारीको असर सामान्य हुने आधारमा यो आर्थिक वृद्धि हुने विभागको प्रक्षेपण रहेको छ ।

विभागका अनुसार प्राथमिक क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा २६.४ प्रतिशत,द्धितीय क्षेत्रले १२.५ प्रतिशत र सेवा क्षेत्रले ६१.१ प्रतिशत योगदान गरेको प्रारम्भीक अनुमान गरेको छ ।

त्यस्तै, चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २५.८३ प्रतिशत र गैर कृषि क्षेत्रले ७४.१७ प्रतिशत योगदान रहेको अनुमान गरेको छ ।

त्यस्तै,खानी उत्खनन् क्षेत्रको ०.५८ प्रतिशत,उद्योग क्षेत्रको ५.०८ प्रतिशत योगदान गरेको तथ्यांक विभागले जनाएको छ । त्यस्तै, कुल गार्हस्थ्य उत्पादनमा विद्युत,ग्याँस,वास्प क्षेत्रले १.२३ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ ।

पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलापको क्षेत्रबाट ०.५५ प्रतिशत,निर्माण क्षेत्रबाट ५.८ प्रतिशत,थोक तथा खुत्रा व्यापार क्षेत्रको १५.६७ प्रतिशत,यातायात तथा भण्डारण क्षेत्रले ५.४३ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here