‘सामाजिक सुरक्षा योजना सफलतापूर्वक लागू गर्न व्यवहारिक समाधान खोजौं’

काठमाडौं, १८ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर बढी रहेको भएपनि श्रम सम्बन्ध दिगो र भरपर्दो बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।

अध्यक्ष गोल्छाले १३२ औ अन्तराष्ट्रिय मे दिवसको अवसरमा संयूक्त ट्रेड यूनियन समन्वय केन्द्रद्वारा आज आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने कुरामा जोड दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको भन्दै अध्यक्ष गोल्छाले अहिले हाम्रा सामु दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चूनौतीको रूपमा देखिएको, अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बेला आएको बताए ।

यस्तो स्थितिमा हाम्रा प्रयास र पहलहरू अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्न केन्द्रीत हुनु पर्नेमा जोड दिदै अध्यक्ष गोल्छाले भने विश्वभरी नै कोरोना संक्रमणको प्रकृति हेर्दा चाडै नियन्त्रणमा आउने संभावना छैन, यस्तो स्थितिमा जीउ ज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नु पर्ने चुनौती र बाध्यता हामी सबैले महशुस गरेका छौ ।

संक्रमण नियन्त्रणको लागि सरकारबाट जारी गरिने निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसवाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने होकी भन्ने त्रास बढ्न गएको छ ।

अध्यक्ष गोल्छाले भने- हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि संचालन गर्न आग्रह गरेका छौ ।

हाम्रो सामू रहेको यो चुनौतीपूर्ण घडीमा सर्तकता पूर्वक जोखिम न्यूनिकरणका उपाय अनिवार्य रूपमा पालना गरी हाम्रो काममा निरन्तरता दिनुको विकल्प छैन ।

हामी लगानी बृद्धि र रोजगारी सिर्जनाको कुरा पनि गरिरहेका छौ तर उद्योगहरूको विस्तार र लगानी किन बढन सकेको छैन, अहिले ७÷८ लाख भारतीय कामदारहरू नेपालमा काम गरिरहेको पाईन्छ, किन यसो भईरहेको छ, यसको कारण खोज्न जरूरी छ, अध्यक्ष गोल्छाले जिज्ञासा राखे धेरै जसो उद्योग क्षेत्रले नेपाली श्रमिकहरूलाई रोजगारी दिन चाहन्छन् तर त्यस्ता उद्योगहरूमा स्वदेशी श्रमिकहरू पाइएको छैन् यसको कारण के हो ?

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै अध्यक्ष गोल्छाले किन सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्नमा अवरोध आईरहेको छ, यसको व्यवहारिक समाधान खोजिनुपर्नेमा जोड दिए ।

महामारीवाट सिर्जित यो विषम परिस्थितिमा अझ बढी समझदारी एवं सुजवुझका साथ सहकार्य गर्नुपर्ने कुरामा जोड हुँदै उनले सबै श्रमिक कामदार कर्मचारीहरूको सु स्वास्थ्य र सुरक्षाको कामना समेत गरे ।

त्यसैगरी महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघईले महामारीबाट उत्पन्न आजको कठिन परिस्थितिमा हाम्रा अगाडी आउने समस्या र संकटको सबै मिलेर सामना गर्नुपर्नेमा जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here