महामारीकै बीच एक महिनामा ३२ हजार रोजगारीका लागि विदेशिए

काठमाडौं, २१ बैशाख । कोरोना महामारीकाबीच मुलुकमा रोजगारीको अवसर नहुँदा पुनः विदेश जाने नेपालीको संख्या बढेको छ ।

एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।

नेपालका अधिकांश श्रम जनशक्ति विदेशमा नै रहेका छन् ।

तर, कोरोनाले विदेशका रोजगार जोखिममा भएपनि नेपाल आएका कामदार पनि पुनः बैदेशिक रोजगारमा जान बाध्य भएका देखिन्छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनसार चैत २०७७ मा मात्र ७३ देशमा कुल ३२ हजार १४२ जना नेपाली वैदेशिक रोजगारीका लागि गएका छन् ।

यसमध्ये दुई हजार १०७ महिला छन् । फागुनमा १९ हजार ८०८ जनाले श्रम स्वीकृति लिएको तथ्यांक रहेको छ ।

चैतमा श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या फागुनको भन्दा १२ हजार २९९ बढी पाइएको छ । श्रम स्वीकृति लिएर जाने नेपालीका श्रम गन्तव्य मुलुक, साउदी अरब, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत, जापानलगायत मुलुक रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here