खाद्यान्न मौज्दात पर्याप्त, उपभोक्ताले स्टक गरे मुल्यवृद्धि

काठमाडौं, २२ बैशाख । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले आफुसँग प्रशस्त मात्रामा खाद्यान्नको मौज्दात रहेको बताएको छ।

कोरोना संक्रमण बढ्दै गएकोले पूर्ण रुपमा लकडाउन गरेपनि मौज्दात तीन महिनाभन्दा बढिको रहेको विभागले जनाएको हो ।

विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि तीन महिनालाई पुग्नेगरी मौज्दात रहेको बताए।

विभागका अनुसार हाल १० हजार क्‍विन्टल चामल, १७ हजार क्‍विन्टल धान र गहुँ १ हजार क्‍विन्टल गरी २९ हजार क्‍विन्टल खाद्यान्न मौज्दात छ।

यसैगरी, कम्पनीले थप ५ हजार क्‍विन्टल चामलको खरिद प्रक्रिया अगाडि बढाइ सकेको छ। खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने अवस्था रहेको कम्पनीले जनाएको छ ।

बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद संचय नगर्न कम्पनीले आग्रह गरेको छ ।

आवश्यकताभन्दा बढी खरिद गरिदिएमा भने मुल्यवृद्धिको संभावना रहने बताएको छ ।

खाद्य संस्थानले अहिले उपत्यकाका थापाथली, रामशाहपथ, नख्खु र सूर्यविनायक गरी ४ ठाउँमा रहेका बिक्री केन्द्रबाट समय सीमा तोकेर दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा बिक्री गरिरहेको जनाएको छ ।

खाद्यले महामारीमा उपभोक्तालाई सहज बनाउन बासमती र जुम्लाको मार्सीलगायत चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु, स्यानिटाइजर बिक्री गरिरहेको छ जनाएको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ११ महिनालाई पुग्ने नुन मौज्दात रहेको जनाएको छ ।

यस्तै नेपाल आयल निगमसँग अहिले खाना पकाउने एलपी ग्यास ४६ हजार ३ सय ३२ मेट्रिक टन मौज्दात छ । त्यस्तै, डिजेल, पेट्रोल र मट्टीतेल गरी ४८ हजार २ सय ४५ किलोलिटर मौज्दात रहेको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here