काठमाडौं, २२ बैशाख । मध्यभोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयको लागि निष्काशन गरेको आइपीओमा दोस्रोदिनसम्ममा ५ करोड बढीको आवेदन परेको छ ।
कम्पनीले निष्काशन गरेको आइपीओमा दोस्रो दिनसम्ममा ५ करोड ८८ लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार आइपीओमा ३ हजार ३ सय ६९ जना आवेदकबाट ५ लाख ८८ हजार ३ सय ६० कित्ताको लागि आवेदन परेको हो ।
मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकका स्थानीयका लागि विक्रीमा ल्याएको प्राथमिक साधरण शेयर (आइपीओ)मा ईसेवाबाट पनि आवेदन दिन मिल्नेछ ।
कम्पनीको आइपीओ भर्न सिन्धुपाल्चोक र काठमाडौंका विभिन्न स्थानमा केन्द्र तोकिए पनि निषेधाज्ञाका कारण आवतजावतमा असहज हुने भएपछि त्यसलाई मध्ये नजरगर्दै ईसेवाबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको हो ।
कम्पनीले आयोजना प्रभावित सिन्धुपााल्चोकका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
निष्काशित कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिड. गाविस), बाह्रविसे नगरपालिका वडा नं. ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाड. र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।
स्थानीयले कम्पनीको शेयरमा आगामी जेठ ४ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएका जेठ २० गतेसम्म आवेदन दिन पाइनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ४०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । पहिलोचरणमा स्थानीयका लागि सेयर जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि शेयर जारी गर्नेछ ।
आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
ईसेवाबाट यसरी दिनुहोस् आवेदन :
१. सर्वप्रथम ईसेवा लगइन गरी MBJCL – IPO (Local People) अप्सनमा क्लिक गर्ने ।
२. त्यसपछि सिन्धुपाल्चोकवासी भएको नभएको कन्फर्म गर्नुहोस् ।
३. त्यसपछि खुल्ने फर्ममा आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता, पैसा फिर्ता हुने माध्यम लगायत विवरण भर्नुहोस् ।
४. सबै विवरण भरेपछि प्रोसिड क्लिक गरी आवेदन दिन सकिनेछ ।