‘आइएमई पे’ बाट मध्यभोटेकोशीको आइपीओमा आवेदन दिन सकिने, यसरी भर्नुहोस्

काठमाडौं,२३ बैशाख । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकका स्थानीयका लागि विक्रीमा ल्याएको प्राथमिक साधरण शेयर (आइपीओ) मा ‘आइएमई पे’ बाट पनि आवेदन दिन दिन सकिने भएको छ ।

आइएमई ग्रुपले निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आइपीओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको हो ।

कम्पनीले आयोजना प्रभावित सिन्धुपााल्चोकका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

निष्काशित कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिड. गाविस), बाह्रविसे नगरपालिका वडा नं. ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाड. र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।

स्थानीयले कम्पनीको शेयरमा आगामी जेठ ४ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर विक्री नभएका जेठ २० गतेसम्म आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ४०० कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट डेढ अर्ब बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । पहिलोचरणमा स्थानीयका लागि सेयर जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि शेयर जारी गर्नेछ ।

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

‘आइएमई पे’ बाट यसरी दिनुहोस् आवेदन

पहिलोपटक आइएमई पे प्रयोग गर्ने ग्राहकले सबैभन्दा पहिला आइएमई पे एप डाउनलोड गर्नुपर्दछ ।

कारोबारको सुरक्षा र गोपनियताका लागि ग्राहकले आफ्नाे नाम, थर, ठेगाना, सम्पर्क नम्बर लगायत आफूसम्बन्धित विवरण त्यो एपमा दर्ता गर्नुपर्दछ । यसलाई बैंकिङ्ग भाषामा नो योर कस्टुमर (केवासी) फारम भनिन्छ ।

त्यसपछिकाे एपको गृहपृष्ठमा प्रवेश गरी ‘आईपीओ’ आइकनमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि आईपीओसँग सम्बन्धित आफ्नो सबै विवरण भरेर र त्यसलाई एक पटक रूजु गरी आफ्नो पीन कोड थिच्नुपर्छ ।

यसरी ग्राहकले आफ्नै मोबाइलबाट घरमै बसी आइएमई पे मार्फत मध्य भोटेकोशीको आइपीओ भर्न सक्ने भएका छन्। यसरी आइपीओ भर्दा ग्राहकलाई कुनै अतिरिक्त सेवा शूल्क लाग्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here