स्वास्थ्यकर्मीकै बीमा रकम दिन मणिपाल शिक्षण अस्पतालको आनाकानी

काठमाडौं, २५ बैशाख । पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोना बीमाको रकम दिन आनाकानी गरेको छ ।

बीमा कम्पनीले अस्पताललाई बीमावापतको रकम बुझाइसके पनि उसले कर्मचारीलाई रकम दिन आनाकानी गरेपछि कर्मचारी विरोधमा उत्रिएका छन् ।

पटकपटक ताकेता गर्दा पनि आफूले बीमा रकम नपाएको भन्दै कर्मचारीहरुको एक समूहले अस्पताल प्रशासनमा विरोधपत्र बुझाएको छ । क्लाउडपत्रिकालाई उपलब्ध गराइएको निवेदनपत्रमा २७ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले हस्ताक्षर गरेका छन् ।

अस्पतालका विभिन्न विभागमा कार्यरत २७ जना कर्मचारीले हस्ताक्षरसहित सो निवेदनमा विमा कम्पनीले अस्पताललाई वीमा रकम बुझाएको करीव छ महिना भइसक्दा पनि हालसम्म आफुहरुले रकम नपाएको उल्लेख छ ।

बैशाख २१ गते नै अस्पताल प्रशासनमा बीमा रकमको माग गर्दै निवेदन पेश गरिए पनि हालसम्म सुनुवाई नभएको कर्मचारीहरुको भनाइ छ ।
‘कोरोना संक्रमितले पाउनुपर्ने रकम प्रतिव्यक्ती १ लाख रुपैयाँ अस्पताले लिएको लामो समय भइसक्यो’ एक कर्मचारीले भने, ‘अझै पनि हामीले सो रकम पाएका छैनौं ।’

मणिपाल कर्मचारी युनियन समन्यव समितिले उक्त रकम सम्बन्धित संक्रमितहरुलाई प्रदान गरि पाँउ भन्दै निवेदनमार्फत अस्पताललाई आग्रह गरेको छ ।

तर अस्पतालका एचआर प्रमुख भानु भारद्धाजले भने संक्रमित वीमितहरुलाई वीमाको रकम उपलब्ध नगराउने उद्देश्य नरहेको जिकिर गरेका छन् ।

‘हामीले सबै वीमितलाई रकम उपलब्ध गराउने छौं, तर कोरोना संक्रमण बढिरहेको बेलामा संक्रमितलाई ५० प्रतिशत रकम दिने भनेका हौं’ उनले भने ।

बाँकी ५० प्रतिशत रकम वेलफेयर फण्ड बनाएर राख्न आग्रह गरेकोमा कर्मचारीले सहमति नजनाएको उनले जानकारी दिए । ‘वहाँहरुले त्यसमा सहमती जनाउनु भएको छैन, तर हामी छलफकै क्रममा छौ,’ भारद्धाजले भने ।

तर अस्पतालका कर्मचारी भने यो कानुन भन्दा बाहिरको भन्दै आफूहरुले शतप्रतिशत रकम पाउनुपर्ने जिकीर गर्छन् । ‘त्यो कोरोना संक्रमित व्यक्तिको अधिकार हो । नेपाल सरकारको कोरोना बीमा मापदण्ड अनुसार राष्ट्रसेवक कर्मचारीको सामूहिक बीमा गर्दा शतप्रतिशत उपलब्ध गराउनुपर्ने नियम छ,’ एक कर्मचारीले भने ।

अस्पताल र कर्मचारीबीच आगामी सोमबार सो विषयमा पुनः छलफल गर्न लागिएको अस्पताल स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here