डिप्रोक्स लघुुवित्तले कमायो ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा

काठमाडौं, २७ बैशाख । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाको खुद मुनाफा झन्डै दोब्बरले बढेको छ ।

लघुवित्तले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ५१ करोड ८१ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आवको सोही अवधिको तुलानामा ९६.०९ प्रतिशतले बढी हो । गत वर्ष तेस्रो त्रैमाससम्म लघुवित्तले २६ करोड ४२ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफामा उल्लेख्य वृद्धि हुँदा खुद मुनाफामा पनि वृद्धि भएको हो । लघुवित्तले चालू वर्षमा कमाएको खुद नाफा दुई वाणिज्य बैंककोभन्दा पनि धेरै हो । लघुवित्तले सेञ्चुरी र सिभिल बैंकलेभन्दा धेरै नाफा कमाएको हो । तेस्रो त्रैमासमा सिभिलले ५० करोड र सेञ्चुरीले ३५ करोड खुद नाफा कमाएका छन् ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४७.८० प्रतिशतले बढेर ९८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । गतवर्ष सोही अवधिमा लघुवित्तले ६६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

यस्तै, लघुवित्तको सञ्चालन मुनाफा ९२.२१ प्रतिशतले बढेर ५० करोड ३६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २६ करोड २० लाख सञ्चालन नाफा कमाएको थियो ।

समीक्षा अवधिमा लघुवित्तले ६ अर्ब ३१ करोड निक्षेप संकलन र ७ अर्ब ४७ करोड सापटी लिइ कुल १५ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब १५ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब १३ करोड संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २४.७१ रुपैयाँले बढेर ५९.७५ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने २.५८ प्रतिशतबाट घटेर ०.५३ प्रतिशतमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १९८.२१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.८९ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here