प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत, स्वत: पदमुक्त

काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन असफल भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएको छ ।

मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत खस्यो । विपक्षमा १२४ मत खस्यो । १५ सांसद भने तटस्थ बसे । २७१ सदस्यीय प्रतिनिधि सभामा ३९ अनुपस्थित रहे । २३२ सांसद उपस्थित रहेका थिए ।

२०७४ फागुनका दिन ओली १ सय ७४ सांसदको मतको दाबी राष्ट्रपति कहाँ पेश गरेपछि प्रधानमन्त्री घोषित भएका थिए ।

जसमा एमालेको १२१ र माओवादीको ५३ मत थियो । विश्वासको मत नपाएसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।

विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि एमालेका २८ सांसद अनुपस्थित भएका थिए। प्रधानमन्त्री ओली आफैँले विश्वासको मत लिन राष्ट्रपति समक्ष संसदको विशेष अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक बिहीबार दिउँसो १ बजेका लागि राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here