स्पेनिस ला लिगा: उपाधिबाट टाढिँदै बार्सिलोना

काठमाडौं, २९ बैशाख । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना बराबरीमा रोकिएको छ । गए राति सम्पन्न खेलमा बार्सिलोना लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

कप्तान लियोनल मेस्सीको गोलसमेत जितका लागि पर्याप्त भएन् । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिन पुगेको हो ।

खेलको २५ औं मिनेटमा लियोनल मेस्सी र ३४ औं मिनेटमा पेड्रीले गोल गर्दा बार्सिलोनाले २–० को अग्रता बनाएको थियो । ५७ औं मिनेटमा गोन्जालो मेलेरोले र ५९ औं मिनेटमा जोसे लुइसले गोल गर्दै लेभान्तेलाई २–२ गोलको बराबरीमा ल्याए ।

६४ औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ३–२ ले अग्रता दिलाए । तर ८३ औं मिनेटमा सेर्जियो लिओनले गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा सकियो ।

२-० ले पछि परेको लेभान्टेले शानदार कमब्याक गर्दै बार्सिलोनालाई बराबरीमा रोकिदिएपछि बार्सिलोनाको उपाधि जित्ने अभियानमा ठूलो धक्का लागेको छ ।

यो बराबरीले बार्सिलोना उपाधिबाट टाढिएको छ । बार्सिलोना ३६ खेलमा ७६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ३५ खेलबाट ७७ अंक रहेको छ । तेस्रो स्थानको रियाल मड्रिडको ३५ खेलबाटै ७५ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here