९ महिनामा ५७ हजारले लिए सहुलियत कर्जा, अधिकांश कृषि र महिला उद्यमशीलतामा

काठमाडौं, १ बैशाख । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक बर्ष २०७७/७८ को ९ महिना (साउन–चैत) चैत मसान्तसम्ममा ८९ हजार ८७९ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

यो संख्या अघिल्लो वर्षको पुस मसान्न सम्ममा १८ हजार २ सय ९५ रहेको थियो । असार मसान्तसम्ममा ३२ हजार ४ सय ४८ जनाले सहुलियत कर्जा लिएका थिए ।

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा मात्रै थप ५७ हजार ४३१ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् ।

यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा अन्तर्गत १ खर्ब ४२ अर्ब २ करोड ३० लाख रुपैयाँ लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार, सहुलियत कर्जाका १० शीर्षकमध्ये ऋणी संख्याका हिसाबले महिला उद्यमशीलता कर्जा र कर्जाको आकारका हिसाबले व्यावसायिक कृषि तथा पशुपंक्षी पालनतर्फ सबैभन्दा बढी कर्जा परिचालन भएको छ ।

पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुले अनिवार्य सहुलियतपूर्ण कर्जा लगानी गर्नै पर्ने व्यवस्था गरेपछि यस्तो कर्जा लिनेको संख्या बढ्दै गएको हो ।

राष्ट्र बैंकले संख्या नै तोकेर अनिवार्य कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेपछि पहिलाकोभन्दा सहजै ऋण पाउने अवस्था सृजना हुँदा यस्तो ऋण लिनेको संख्या ह्वात्तै बढेको हो ।

सहजै सहुलियतपूर्ण कर्जा नपाएको गुनासो बढेपछि राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले एक आर्थिक वर्षम न्यूनतम ५०० वटा वा प्रतिशाखा १० जना र विकास बैंकहरूले कम्तीमा ३०० वा न्यूनतम प्रतिशाखा ५ जनालाई सहुलियत कर्जा प्रवाह गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो ।

कुन शीर्षकमा कतिले लिए ?

कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ४२ हजार ४४७ ऋणीलाई ९६ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

दोस्रोमा महिला उद्यमशील कर्जा लिने रहेका छन् । चैत महिनासम्ममा ४५ हजार १२८ जनाले महिला उद्यमशील कर्जा लिएका छन् ।

ती महिलाका लागि बैंक तथा वित्तीय संस्थाले ४२ अर्ब १५ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । असार मसान्तसम्म ४ अर्ब ३५ करोड ऋण प्रवाह गरेका थिए ।

असार मसान्तसम्म कृषिका लागि २४ हजार ७६३ जनाले ५४ अर्ब ११ करोड र ६ हजार ६८२ जनाले महिला उद्यमशीलताका लागि ४ करोड ३५ लाख सहुलियतपूर्ण कर्जा लिएका थिए ।

दलित समुदाय व्यवसाय विकासको लागि ७९९ जनाले सहुलियत कर्जा लिएका छन् । त्यसको लागि बैंक तथा वित्तीय संस्थाले ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

उच्च र प्राविधिक व्यावसायिक कर्जा ८६ जनाले र भूकम्प पीडितका लागि निजी आवास पुनर्निर्माण कर्जा २३६ जनाले लिएका छन् ।

कपडा उद्योग सञ्चालनका २९५ जनाले सहुलियत ऋण लिएका छन् । शिक्षित युवा स्वरोजगार कर्जा विदेशबाट फर्किएका युवा परियोजना कर्जा जम्मा ७४४ जनाले मात्रै उपयोग गरेका छन् ।

कुन-कुन शीर्षकमा पाइन्छ सहुलियत कर्जा ?

सरकारले ब्याज अनुदान सहित विभिन्न १० शीर्षकका व्यवसाय गर्नलाई सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको छ ।

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।

गत वर्ष राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दौ कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here