सर्वोच्च शिखर सगरमाथा आरोहणमा एकै परिवारका ८ जनाको रेकर्ड (फोटोफिचर)

काठमाडौं, १ जेठ । कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाको एकै परिवारका ८ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

पेम्बाको बहिनी निमा ल्हामू शेर्पाले मे १२ तारिखमा सफल आरोहण गरेसँगै सगरमाथा आरोहणमा एकै परिवारका ८ जनाको रेकर्ड बनेको छ ।

दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ बेदिङका छिरिङ नोर्बु र किमजुङ शेर्पाको आठ जना छोराछोरीले सगरमाथा आरोहण गरेर उनका परिवारको सदस्य कान्छीमाया तमाङले क्लाउड पत्रिकालाई जानाकारी दिइन् ।

आरोहीहरुमा पेम्बा दोर्जे शेर्पा, पेम्बा ग्याल्जेन शेर्पा, निमा ग्याल्जेन शेर्पा, फुर्वा तेन्जिङ शेर्पा, फुर्वा थुण्डु शेर्पा, फुर्वा ठिन्ले शेर्पा रहेका छन् ।

बहिनीहरुमध्ये दावा डिकी शेर्पा र निमा ल्हामु शेर्पा रहेका छन् । निमाले पहिलो पटक यही मे १२ मा सफल आरोहण गरेकी कान्छीमायाँले क्लाउड पत्रिकालाई बताइन् । निमा काठमाडौंको विश्वशान्ती चिरन-मिलन क्याम्पसको विद्यार्थी हुन् ।

सबैजना कीर्तिमानी आरोही रहेका छन् । जसमध्ये परिवारको साइलो सन्तान पेम्बाले २१ पटक आरोहण गरेर किर्तीमान कायम गरेका छन् । उनले पहिलो पटक सन् २००० मा पहिलो पटक सगरमाथा चढेका थिए ।

स्पिड आरोहीका नामले परिचित पेम्बाले बिना अक्सिजन ७ पटक सगरमाथा आरोहण गरिसकेका छन् । उनले दश दिनमा तीन पटक र सात दिनमा दुईपटक सगरमाथा आरोहणको रेकर्ड पनि बनाइसकेका छन् ।

परिवारको जेठो सन्तान पेम्बा ग्याल्जेन शेर्पाले ४ पटक आरोहण गरेका छन् । उनले सन् २००० मे १७ को दिन पहिलो पटक सफल आरोहण गरेका थिए । निमा ग्याल्जेन ९ पटक आरोहण गरेका छन् ।

उनले पहिलो पटक २००५ मे २ मा सफल आरोण गरेका हुन् । फुर्वा तेन्जिङले १४ पटक सफल आरोहण गरेका छन् । उनले २००७ मे ८ मा पहिलो पटक सफल आरोहण गरेका हुन् ।

फुर्वा थुण्डुले २ पटक आरोहण गरेका छन् । उनले १८ मे २००४ मा पहिलो सफल आरोहण गरेका हुन् । फुर्वा ठिन्लेले ५ पटक आरोहण गरेका छन् । उनले २०१७ मे २२ मा पहिलो पटक सफल आरोहण गरेका हुन् ।

दावा डिकीले २०१८ मे २३ मा पहिलो पटक सफल आरोहण गरेकी कान्छीमायाँले बताईन् । ७ जनाको परिवारको विश्व रेकर्ड २०१८ मा नै उनिहरुले पाईसकेका छन् । आफ्नै पारिवारिक रेकर्ड तोडेर उनिहरुले नयाँ रेकर्ड कायम गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here