थप ५ कम्पनीलाई बुक बिल्डिङमा सहभागी हुन अनुमति

काठमाडौं, २ जेठ । नेपाल धितोपत्र बोर्डले थप ५ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको छ।

बुक बिल्डिङ्गमा सहभागिता जनाउन बोर्डसमक्ष निवेदन पेश गरेको मध्ये ५ संगठित संस्थालाई आइतबार योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको हो ।

स्वीकृति पाउनेमा सिबिआईएल क्यापिटल, सिटिजन्स म्युचुअल फण्ड १, सिटिजन्स म्युचुअल फण्ड २, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि र कुमारी इक्विटी फण्ड रहेका रहेको छ ।

यी सँगै स्वीकृति पाउनेको संख्या ८८ पुगेका छन् । यस अघि बोर्डले एक साथ ४६ कम्पनीलाई, त्यसपछि दोस्रो चरणमा थप १८ कम्पनीलाई र तेस्रो चरणमा थप १० कम्पनी र चौथो चरणमा ९ कम्पनीलाई स्वीकृति दिएको थियो ।

यसअघि नै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ जारी गरिसकेको छ।

बोर्डबाट स्वीकृतिप्राप्त योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजना तथा रणनीतिलगायत विवरणको अध्ययनका आधारमा सूसुचित तवरले धितोपत्रको आशय मूल्य पेस गर्न सक्नेछन् ।

खरिद आशय मूल्यको आधारमा धितोपत्रको बिक्री मूल्य सीमा निर्धारण गरी योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्रको ४० प्रतिशत र सर्वसाधारण लगानीकर्ताको लागि ६० प्रतिशत धितोपत्र निष्काशन गर्नु पर्नेछ।

जसले प्रारम्भिक सार्वजनिक निष्कासनको मूल्य निर्धारणमा दक्ष तथा व्यावसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारण गर्न सहयोग पुग्नुका साथै वास्तविक क्षेत्रका संगठित संस्थाको थप प्रवेश हुने अपेक्षा रहेको बोर्डले जनाएको छ ।

के हो बुक बिल्डिङ

बुक–बिल्डिङ धितोपत्रको निष्कासन मूल्य पत्ता लगाउने विधि हो । यसमा सर्वप्रथम कुनै मूल्यांकन विधिका आधारमा धितोपत्रको वित्तीय मूल्यांकन गरिन्छ ।

यो मूल्यांकन रकममा केही प्रतिशतले थपघट गरेर निष्कासन मूल्यको दायरा तोकिन्छ । सम्भावित लगानीकर्ताबाट उनीहरूले खरिद गर्न चाहेको आशय मूल्य र संख्यामा आवेदन माग गरिन्छ ।

प्राप्त आशय मूल्य र सेयर संख्याका आधारमा लगानीकर्ताले तिर्न चाहेको ‘भारित औसत मूल्य’ गणना गरिन्छ । यही मूल्य नै धितोपत्रको निष्कासन मूल्य (कट-अफ प्राइस) हुन्छ । लगानीकर्तालाई यही निष्कासन मूल्यमा समानुपातिक हिसाबले धितोपत्रको बाँडफाँट गरिन्छ ।

बुक–बिल्डिङले धितोपत्रको चुस्त मूल्य निर्धारण गर्ने भएकाले अन्तर्राष्ट्रिय अभ्यासमा यसको व्यापक प्रयोग हुन्छ । यस विधिमा लिड-अन्डरराइटरको भूमिका महत्वपूर्ण हुन्छ । धितोपत्र निष्कासन गर्ने कम्पनीले कुनै इन्भेस्टमेन्ट बैंकलाई लिड–अन्डरराइटर नियुक्ति गरेपछि बुक–बिल्डिङको प्रक्रिया सुरु हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here