आईओसीले पठायो नयाँ मूल्यसूची, निगमलाई पाक्षिक १ अर्ब ३२ करोड नोक्सान

काठमाडौं, ३ जेठ । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य २ रुपैयाँ बढाएर पठाएको हो ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय २३ रुपैयाँ, डिजेल तथा मट्टितेलको १०६ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ । निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य १ मे २०२१ को तुलनामा वृद्धि भएर आएकाले बढाइएको निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

सो मूल्यअनुसार तेल तथा ग्यास बेच्दा निगमलाई पाक्षिक रुपमा रु. १ अर्ब ३२ करोड घाटा हुनेछ ।

सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here