काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर भित्रिएसँगै बालबालिकामा पनि कोभिडको जोखिम बढिरहेको छ ।
यस्तोमा वैज्ञानिकहरूले सङ्क्रमणको तेस्रो लहर आउन सक्ने र यसपटक सबैभन्दा ठूलो जोखिम बालबालिकालाई हुने चेतावनी दिएका छन् । इङ्ल्यान्डका वैज्ञानिकले गरेको अनुसन्धानअनुसार कोरोना भाइरसबाट सङ्क्रमित भएका धेरै बच्चाहरूले सङ्क्रमणका कुनै पनि लक्षण देखाउँदैनन् ।
बेलायतको अलाबामा विश्वविद्यालयका अनुसन्धानकर्ताले किशोरकिशोरीको तुलनामा बालबालिका तीन गुणा बढी कोरोना भाइरसबाट सङ्क्रमित हुने गरेको पत्ता लगाएका हुन् । त्यस्तै, १८ वर्ष उमेरसम्मका १२ हजार तीन सय बालबालिकामा गरेको अनुसन्धानले सङ्क्रमण पुष्टि भएका ७५ प्रतिशत बालबालिकामा ज्वरो, खोकी तथा सास फेर्न गाह्रो हुने समस्याजस्ता कुनै पनि लक्षण देखिएको थिएन ।
२५ प्रतिशत सङ्क्रमित बालबालिकामा मात्र लक्षण देखिएको थियो । यीमध्ये १८ प्रतिशत सङ्क्रमितमा ज्वरो, मांसपेशीको दुखाइ, स्वाद वा गन्ध हराउनेजस्ता लक्षण थिए । त्यस्तै, १६.५ प्रतिशत खोकी र १३.५ प्रतिशतमा बान्ता, ८.१ प्रतिशतमा छालाको समस्या र ४.८ प्रतिशतमा टाउको दुखाइ जस्ता समस्या रहेको देखिएको थियो ।
अध्ययनमा समावेश बालबालिकामध्ये जम्मा छ सय ७२ लाई अस्पतालमा भर्ना गर्नुपरेको थियो । अन्वेषकका अनुसार अस्पतालमा भर्ना गरिएका र अस्पतालमा भर्ना गर्नुपरेका सङ्क्रमित बच्चामा मांसपेशी दुख्ने, थकान, स्वाद र गन्ध हराउने जस्ता लक्षण समान रुपमा देखिएको थियो ।(एजेन्सी)