काठमाडौं, ४ जेठ । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा कुनै पनि प्रकारका पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने भएका व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा गर्दै कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।
निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रोत्साहित गरिनेछ।
त्यस्तै निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्वन्धी सूचना वा लिलामी सम्वन्धी सूचना जारी गर्न नपाउने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै ब्याज पुँजीकरणको लागि राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरिसकेका विद्युत परियोजनाहरुको व्यवसायीक संचालन मिति परिवर्तन भएमा सो अबधिको ब्याज पुँजीकरण गर्न पुन राष्ट्रबैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिने जनाएको छ ।





















