हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति

सांकेतिक तस्वीर

भीमदत्तनगर, २७ जेठ । तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ ।

कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ ।

रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । ‘जिल्लाभर रहेका १५ उपशाखाबाट गरिएको क्षति विवरण सङ्कलनको प्रारम्भिक रेकर्ड हो ।’

जिल्ला रेडक्रस सोसाइटीको कार्यालयका कार्यालय प्रमुख मनोज उप्रेतीले भने, ‘वास्तविक रेकर्ड आउन एक/दुई दिन लाग्छ ।’

उनले वास्तविक रेकर्ड सङ्कलनका लागि रेडक्रस, स्थानीय तह, स्थानीय प्रशासनका साथै सुरक्षा निकाय संयुक्तरुपमा खटिएको समेत जानकारी दिए । स्थलगत अनुगमनका क्रममा पूर्णरुपमा क्षति भएको देखिएको परिवारलाई रेडक्रसले राहत प्याकेज पनि उपलब्ध गराउँदै हिँडेको छ ।

त्यस्तै हावाहुरीका कारण कञ्चनपुरका ५२५ बिजुलीका पोल भाँचिएका छन् । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले विद्युत्तर्फ पोल भाँचिनुका साथै धेरै ठाउँमा तारमा समेत क्षति पुगेको बताए । उनले विद्युत्मा यहाँ डेढ करोड बराबरको क्षति भएको बताए । जिल्लाको अधिकांश ठाउँमा विद्युत् सञ्चालन भइसकेको पनि उनले बताए ।

‘कृष्णपुरको रैकवारबिचुवामा विद्युत् सञ्चालन हुन अझै दुई/तीन दिन लाग्न सक्छ’, उनले भने, ‘नयाँ पोल ल्याएर तार तान्ने काम हुँदैछ ।’

क्षति विवरण सङ्कलनसँगै विद्युत् सञ्चालन गर्न रातदिन टोली जिल्लाभर परिचालन भएको उनले जानकारी दिए । ‘कञ्चनपुरमा कृष्णपुर नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ’, उनले भने, ‘क्षतिको यकिन विवरण आएपछि केन्द्रमा बजेट माग्ने योजनामा छौँ ।’

त्यसैगरी यहाँका स्थानीय तहहरु पनि पीडितको राहत र क्षतिको विवरण सङ्कलनमा सक्रिय देखिएका छन् । स्थानीयतह आपत्कालीन राहतकोष घोषणा गर्नेदेखि घाइतेको उपचार खर्चमा समेत गम्भीररुपमा लागिपरेका छन् ।

जिल्ला सुरक्षा समिति पनि हावाहुरीबाट पूर्णरुपमा क्षति व्यहोरोका स्थानीयवासीको भत्केका घर पुनःनिर्माण गर्ने र त्रिपाललगायतका राहत सामग्री वितरण गर्न छलफलमा जुटेको छ । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here