सुस्तायो घरजग्गा कारोबार, बैशाखमा राजस्व संकलन ५० प्रतिशत घट्यो

काठमाडौं, ६ जेठ । कोभिड–१९ महामारीको असर घरजग्गा कारोबारमा पनि परेको छ । महामारीको प्रकोप बढेसँगै अघिल्ला महिनाको तुलनामा घरजग्गा कारोबार प्रभावित भएका छन् ।

महामारीले अरु सबैजसो क्षेत्र आक्रान्त भएका बेला घरजग्गा कारोबार पनि शिथिल बन्न पुगेको हो।

कोभिड–१९ महामारीबाट सिर्जित अन्यौल र न्यून आर्थिक गतिविधिका कारण घरजग्गा कारोबार नाटकीय रुपमा धरासायी बनेको तथ्यांकले देखाएको छ ।

मानिसहरु संक्रमणबाट बच्न शारीरिक दूरी राख्नेलगायत सावधानी अपनाइरहेले घरजग्गा किनबेचको असर पुगेको व्यवसायीको दाबी छ । कोभिड १९ का कारण कारोबार घटेसँगै जग्गाको मूल्य समेत स्थिर रहेको छ ।

चैतसम्म हरेक महिना नयाँ रेकर्ड कायम गर्दै आएको घरजग्गा कारोबार बैशाखमा ५० प्रतिशतले घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार चैतमा ८७ हजार १८७ घरजग्गा किनबेच भएको थियो ।

बैशाखमा आउँदा यो संख्या घटेर ४३ हजार ३९० मा सिमित भएको छ । निषेधाज्ञाका कारण मालपोत कार्यालयहरु बन्द हुँदा त्यसको असर कारोबार र राजस्व संकलनमा परेको हो ।

बैशाखमा मुलुकभरका मालपोत कार्यालयबाट ४ अर्ब २९ करोड ६५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । चैत महिनामा ८ अर्ब ५९ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।

बैशाखमा उठेको राजश्वमध्ये रजिष्ट्रेसन दस्तुरबाट २ अर्ब ४२ करोड ६३ लाख, पूँजिगत लाभकरबाट १ अर्ब १० करोड १९ लाख, सेवाकरबाट २३ करोड ४८ लाख रुपैयाँ संकलन भएको हो ।

पुसदेखि चैतसम्म हरेक महिना घरजग्गा किनबेचमा रेकर्ड ब्रेक हुँदै आएको थियो । तर, अहिले कोरोनाको मारमा घरजग्गा व्यवसाय पनि परेको छ । देशका ७४ जिल्लामा हाल निषेधाज्ञा छ । बाँकी ३ जिल्लामा निषेधाज्ञा नभएपनि कारोबार भने खासै भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here