यसरी लिनुहोस् टेलिकमका ग्राहकले व्यालेन्स ट्रान्सफर, रिचार्ज र गिफ्ट प्याकेज

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि निषेधाज्ञाको समयमा घरमै बसी विभिन्न तरिकाले रिचार्ज, ट्रान्सफर र गिफ्ट प्याकेजका सुविधा उपलब्ध गराएको छ ।

निषेधाज्ञाको समयमा वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनारजस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने भएकाले यस्ता सुविधा उपलब्ध गराएको टेलिकमले जनाएको छ ।

१. व्यालेन्स ट्रान्सफर – नेपाल टेलिकम एपमा उपलब्ध ‘व्यालेन्स ट्रान्सफर’ अप्सनबाट त्यहाँ दिइएको निर्देशन अनुसार व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । प्रिपेड मोबाइल प्रयोगकर्ताले *422*Security Code*Mobile Number*Rupees# डायल गरेर पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

सेक्युरिटी कोड प्राप्त गर्नका लागि आफ्नो मोबाइलबाट SCODE लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ । यहाँ व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर र त्यसपछि आफूले पठाउन चाहेको रकम (रुपैयाँमा) उल्लेख गर्नुपर्छ । यस प्रक्रियामा प्रिपेड मोबाइलमा भएको व्यालेन्स प्रिपेड वा पोस्टपेड दुवैमा ट्रान्सफर गर्न सकिन्छ ।

२. रिचार्ज कार्डको प्रयोग – बजारमा उपलब्ध रिचार्ज कार्डको प्रयोग गरेर आफ्नो मोबाइलमा रिचार्ज गर्न *412*pinnumber# डायल गर्न सकिन्छ । यसैगरी अरु मोबाइलमा वा नेपाल टेलिकमका अरु सेवाहरु रिचार्ज गर्नुपरेमा *412# डायल गरी त्यहाँ दिइएको निर्देशन बमोजिम गर्नुपर्दछ ।

३. गिफ्ट प्याकेज – नेपाल टेलिकमका सुलभ दरका भ्वाइस तथा डाटा सेवाहरु उपहारस्वरुप आफन्त वा साथीभाईलाई प्रदान गर्न सकिने सुविधा पनि उपलब्ध छ । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा उपहारका रुपमा प्रदान गर्न सकिन्छ ।

नेपाल टेलिकम एपमार्फत गिफ्ट प्रदान गर्नका लागि त्यसमा भएको ‘गिफ्ट प्याकेजेज’ मा क्लिक गर्नुपर्छ । विभिन्न दरका डाटा र भ्वाइस प्याकेजको सूची हेरेर ‘डाटा’ लेखिएको एपमा गई कति एमबीको डाटा उपहार दिने हो निश्चित गर्नुपर्छ र ‘क्लिक टु सब्सक्राइब’ लेखिएको स्थानमा क्लिक गरी गिफ्ट दिन चाहेको मोबाइल नम्बर लेखी ‘ओके’ गर्नुपर्छ । यसैगरी ‘भ्वाइस’ क्लिक गरी भ्वाइस प्याकेज गिफ्ट दिन सकिन्छ ।

यसैगरी याे वेबसाइटमा गएर पनि रोजिएका प्याकेजहरु साथीभाई र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यसरी गिफ्ट दिँदा गिफ्ट दिने व्यक्तिकै मोबाइलबाट व्यालेन्स रकम काटिन्छ ।

४. मोबाइल बैंकिङ – हाल अधिकांश बैंकहरुले मोबाइल बैंकिङ सेवा उपलब्ध गराएका छन् । मोबाइल बैंकिङबाट जुनसुकै नम्बरमा टपअप गर्न र व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

५. अनलाइन रिचार्ज – बजारमा किनेको रिचार्ज कार्डबाट आफन्त वा साथीभाईको नम्बरमा व्यालेन्स पठाउनु परेमा नेपाल टेलिकमको साइटमा उपलब्ध अनलाइन रिचार्ज पोर्टलको प्रयोग गर्न सकिन्छ । यसका लागि रिचार्ज कार्डको पिन नम्बर, सिरियल नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर आवश्यक हुन्छ ।

यसका लागि याे लिंकको प्रयोग गर्नुपर्दछ । यही लिंकमार्फत आफूसँग रहेको मास्टर कार्ड, एटीएम कार्ड, भिसा र युनियन पे जस्ता कार्ड प्रयोग गरेर पनि आफ्नो वा आफन्तको मोबाइलमा रिचार्ज गर्न र बिल तिर्न सकिन्छ ।

६. विभिन्न डिजिटल वालेटको प्रयोग – नेपाल वा नेपाल बाहिरबाट समेत विभिन्न एपको प्रयोग गरेर आफ्नो वा आफन्तको मोबाइल रिचार्ज गर्न सकिन्छ । हाल नेपालमा प्रचलित ई–सेवा, खल्ती, आइएमई पे, प्रभु पे आदि डिजिटल वालेट यसैका उदाहरण हुन् । विभिन्न डिजिटल वालेटको प्रयोग गरी नेपालमा रहेका आफन्तको मोबाइलमा रिचार्ज गरीदिने प्रचलन हाल बढ्दो छ ।

७. एमपोस पिनलेस रिचार्ज – नेपाल टेलिकमले तोकेका सेवा प्रदायकहरु (जस्तै : स्टेसनरी पसल) ले ग्राहकको मोबाइलमा सिधै व्यालेन्स रकम ट्रान्सफर गरिदिने सुविधा पनि उपलब्ध छ । आफूले व्यालेन्स रकम हाल्न चाहेको मोबाइल नम्बर उपलब्ध गराएपछि सेवा प्रदायकले सिधै त्यही नम्बरमा रकम उपलब्ध गराउन सक्दछन् ।

८. सेल्फ केयरको प्रयोग – नेपाल टेलिकमको वेबसाइटमा रहेको सेल्फ केयर एकाउन्ट सेक्सनमा लग अन गरी यो सेवाको प्रयोग गर्न सकिन्छ । सेल्फ केयर एकाउन्ट प्रयोग गर्न सबभैन्दा पहिले रजिष्टर गर्नुपर्छ ।

रजिष्टर बटनमा क्लिक गरी त्यहाँ दिइएका विवरण अपडेट गरेपछि कम्पनीका विभिन्न सेवा उपयोग गर्न सकिन्छ । सेल्फ केयरमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ ।

यसैबाट आफन्त वा साथीभाइलाई प्याकेज गिफ्ट दिन, आफूले खरिद गरेका विभिन्न प्याकेजको जानकारी लिन र मोबाइलमा उपलब्ध व्यालेन्स सम्बन्धी जानकारी लिन पनि सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here