बार्सिलोनामा उथलपुथल, ८ जना बाहेक सबै खेलाडी बेच्ने तयारी

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोना नयाँ सिजनमा ब्यापक खेलाडी परिवर्तन गर्ने योजनामा रहेको छ । लगातार दुई सिजन सोचे अनुरुपको नतिजा भित्र्याउन नसक्दा यतिबेला स्पेनिस फुटबल क्लब बार्सिलोनाका माथिल्लो तहका मालिक देखि ब्यवस्थापकलाई टाउको दुखाइ बनेको छ ।

बार्सिलोना नयाँ सिजनमा नयाँ खेलाडीहरु क्लबमा आबद्ध गर्न मात्र चाँहदैन, उसले आफ्नो रहि आएका खेलाडीहरुलाइ बेच्ने मनसाय समेत बनाएको स्पेनिस सञ्चारमाध्यमहरुमा समाचार यतिबेला जोडतोडले सम्प्रेषण भइरहेको छ ।

बार्सा आफ्ना महत्वपूर्ण ८ खेलाडीबाहेक सबैलाई क्लबबाट बिदा दिने योजना बनाइरहेको छ ।

गएको १० महिना बार्साको क्लब इतिहासमा सबैभन्दा खराब क्षणबाट गुज्रिएको उसको नतिजाहरुले बोल्छ । यसै कारण पनि बार्सालाई आफ्नो साख जोगाउन टिममा नयाँ सिजनका निम्ति ब्यापक परिवर्तनको आवश्यकता रहेको छ ।

गत वर्षको जुलाइमा एल क्लासिको राइभल रियाल मड्रिडलाई लालिगाको उपाधि सुम्पिएबाट शुरु भएको खराब यात्रामा त्यस लगतै च्याम्पियन्स् लिगको खेलमा जर्मन क्लब वायर्न म्युनिखसँग ८–२ गोलको फराकिलो अन्तरको लज्जास्पद हार झनै घाँउमा नुन छर्किने काम भएको थियो ।

त्यसपछि बार्साले नयाँ सिजन शुरु हुने समयमा मैदानबाहिरका अनेकन समस्याको समाना गर्नुपरेको थियो । सर्वप्रथम जारी सिजनको शुरुवातमा स्टार लियोनल मेस्सिको क्लब छोड्ने धम्कि र लगतै क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउमाथि आर्थिक हिनामिना सम्बन्धी प्रहरी अनुसन्धानको घटनाले बार्साको खराब दिनहरुमा अझ गति थप्ने काम भएको थियो ।

क्लबको आर्थिक संकटको विषय पनि क्लबका समर्थक र अन्य ब्यक्तिहरुको चासोको विषय बनेको थियो । आर्थिक संकटको विषय त बाहिर छताछुल्ल नै बनेको थियो ।

गत सिजनबाट शुरु भएको बार्साको खराब समय यस सिजनको अन्त्यमा आउँदा अझै पनि टुङ्गिएको छैन । सिजनको अन्तिममा आउँदा बार्साले उपाधि नजित्ने निश्चित भइसकेको छ भने यस सिजन उसले कोपा डेल रे को एउटा उपाधि मात्र क्लबमा भित्र्याएको छ ।

यी सबै समस्याका कारण क्लबका नयाँ अध्यक्षका रुपमा भित्रिने तयारीमा रहेका जोआन लापोर्ता क्लबमा उत्पादकमुलक खेलाडी र नतिजा आवश्यक रहेकोमा विश्वस्त देखिन्छन् । स्पेनिस सञ्चारमाध्यमहरुका अनुसार नयाँ सिजनका लागि ८ जना खेलाडी मात्र सुरक्षित छन् भने बाँकी सबैलाई क्लबले बेच्ने तर्खर शुरु गरिसकेको छ ।

बार्साले लियोनल मेस्सि, अन्शु फाति, ओस्कार मिङ्गेजा, मार्क आन्द्रे, रोनाल्ड आरौजो, फ्रेङ्की डि जोङ्ग, पेड्रि र इलाइक्ज् मोरिजालाई मात्र क्लबमा राख्ने सोच बनाएको छ ।

यसैबिच क्लबले नेटो, सामुएल एम्टिटी, जुनियर फिर्पो, मिरालेम जानिक, रिकी पुइग, फिलिपे कौटिन्हो, म्याथ्युज फर्नान्डेज, एन्टोइन ग्रिज्म्यान, मार्टिन ब्रेथवेट र ओस्माने डेम्बेलेलाई बेच्ने सूचीमा राखेको छ ।

डेम्बेलेको अझै एक वर्षको सम्झौता अवधि बाँकी रहेको छ भने ग्रिज्म्यान र कौटिन्हो बढी पारिश्रमिक लिने खेलाडीमा पर्दछन् । तर उनीहरुको प्रदर्शनका कारण बार्साले आगामी सिजनका लागि उनीहरुसँग सम्झौता बअघि नबढाउने निश्चित प्राय नै भइसकेको छ ।

यसबाहेक सिनियर खेलाडीहरु जोर्डी अल्बा, जेरार्ड पिके, सर्जि अल्बर्टो र सर्जियो बुस्केट्ससँग क्लबले पारिश्रमिक कटौतिको सल्लाह गर्ने बताइएको छ । यदि त्यसमा खेलाडीहरु समहमत नभए यी सिनियर खेलाडीहरुलाई पनि क्लबले बिदा दिने स्पेनिस सञ्चार माध्यमले दाबी गरेका छन् ।

यसबाहेक कुन कुन खेलाडी क्लबले नयाँ सिजनमा भित्र्याउन लागिरहको छ भन्ने खासै कुनै योजना बाहिर आएको छैन । म्यान्चेस्टर सिटीको लिजेण्ड सर्जियो अगुइरो क्लबमा भित्रिने पक्कापक्कि जस्तै भएपनि अन्य कुनै खेलाडीसँगको छलफल बाहिर आइसकेको छैन ।

यस्तै नयाँ पुनः संरचनाको जिम्मा प्रशिक्षक रोनाल्ड कोएम्यानले नै हेर्ने अथवा अन्य कुनै नयाँ ब्यक्तिले हेर्छ भन्ने पनि कुनै ठोस निष्कर्ष क्लबले निकालिसकेको छैन ।

क्लबका पूर्व खेलाडी जाभीलाई जिम्मेवारी दिने चर्चा चलेको भएपनि उनले अल साद क्लबसँग थप एक वर्ष सम्झौता अवधि बढाएपछि अन्य विकल्पको बारेमा कुनै जानकारी बाहिर आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here