अब उपत्यकाभित्र बैंकहरुले एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने

काठमाडौं, ९ जेठ । काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुले अब एक दिनमा ६ वटा मात्र शाखा खोल्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण बढ्दै गएपछि बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न नपाउने भएका छन् ।

जसमा वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा बढीमा ६ वटा, विकास बैंकले ४ वटा र वित्त कम्पनीले ३ वटा मात्रै शाखा खोल्न पाउने भएका छन् ।

वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा जम्मा ६ वटा मात्रै शाख खोल्न पाउनेछन् ।

यस्तै विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरी जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक-एकवटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् ।

बैंकले एउटै शाखा लगातार खोल्ने नभइ आलो-पालो गरेर खोल्न पाउनेछन् । हाल बैंकका १० हजारभन्दा बढी कर्मचारी कोरोना संक्रमित भइसकेको जनाइएको छ ।

कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएपछि बैंकिङ सेवा नै बन्द हुने अवस्था नआओस् भन्दै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ५० हजार रुपैयाँभन्दा कमको निक्षेप नलिने निर्णय गरेको छ । यसमा राष्ट्र बैंकले पनि समर्थन जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here