न्यून-चापीय क्षेत्र शक्तिशाली चक्रवातमा परिणत हुँदै, सतर्क रहन आग्रह

काठमाडौं, १० जेठ । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र आज सोमबार चक्रवातमा परिणत हुने र यसको असर पर्ने सम्भावना रहेको छ ।

चक्रवातका कारण हिमपात, वर्षा तथा हावाहुरीसमेत आउने भएकाले सतर्क रहन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

विभागले सोमबार एक विशेष बुलेटिन जारी गरेर उक्त चक्रवातको केही असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकाले सर्तक रहन आग्रह गरेको छ ।

‘सो प्रणालीका कारण मंगलबारअपरान्ह पछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली तथा पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ’, विभागले भनेको छ, ‘तसर्थ उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबारदेखि केही दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध छ।’

साथै प्रदेश १ ,प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र बिहिबार कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशको एक दुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ।

यो सिजनमा मेघगर्जन/चट्याङ/ हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ, विभागले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here