अनलाइनबाट पुनः श्रम स्वीकृति लिन समस्या भए यी नम्बरमा फोन गर्नुस्

काठमाडौं, १० जेठ । वैदेशिक रोजगार विभागले कार्यालयबाट अनलाइनमार्फत प्रदान गरिने सेवामा कुनै समस्या रहेको भए विभागमा जानकारी दिन आग्रह गरेको छ ।

श्रम कार्यालय ताहाचलले सूचनामार्फत अनलाइनबाट लिने सेवामा समस्या भएमा कार्यालयको वेबसाइटमा राखिएको नम्बरमा सम्पर्क आग्रह गरेको हो ।

वैदेशिक रोजगार विभागले भौतिक रुपमा उपस्थित भएर दिइने सेवाबन्द गरेको छ । विभागले मातहतका कार्यालयबाट भौतिक रुपमा उपस्थित भएर दिइरहेको सेवा स्थगित गर्ने तर अनलाइनबाट भने श्रम स्वीकृति लिन पाइने व्यवस्था गरेको छ ।

सरकारले दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलले एक सूचना जारी गर्दै भौतिक रुपमा उपस्थित बाहेक अनलाइन मार्फत पूनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता काम सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यबस्था मिलाएको जनाएको छ ।

अनलाइनबाट पुनः श्रम स्वीकृति लिन कुनै अप्ठ्यारो वा थप जानकारी चाहिएमा वैदेशिक रोजगार कार्यालय ताहाचलमा शाखा अधिकृत शालिकराम फुयाँललाई ९८७२६२७७८३ मा र माधवराज पाण्डेलाई ९८४१३१०३२३ मा र कम्प्युटर इन्जिनियर अर्जुन यादवलाई ९८४११४९३८० मा सम्पर्क गर्न सकिने कार्यालयले सूचनामार्फत जानकारी गराएको छ ।

यसरी दिनुहोस् पुनः श्रम स्वीकृतिको लागि अनलाइनबाट आवेदन

अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेवसाइट www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ ।

श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोवाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोवाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नपर्छ । साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको यूजरनेम र पासवर्ड सुरक्षित राख्नपर्छ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफइआइएमएसको यूजर अकाउण्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । तपाईँ आफैंले आवश्यकता अनुसार त्यसलाई प्रिन्ट गर्न सक्नुहुन्छ ।

पुनः श्रम स्वीकृति लिंदा म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइनमार्फत नै तिर्न सकिन्छ । यसरी अनलाइनमार्फत तिर्दा कुनै शुल्क लाग्दैन । ईसेवा फोन पे प्रालि, स्प्यारो पे प्रालिबाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here