कोभिड–१९ को दोस्रो लहरले अर्थतन्त्र थप चुनौतिपूर्णः गभर्नर अधिकारी

काठमाडौं ११, जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरको संक्रमण बढिरहेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको ४९ औं वैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन ।

कोभिडको अघिल्लो लहरबाट प्रभावित व्यापार, पर्यटन, यातायात, उत्पादन र निर्माण क्षेत्र विस्तारै पुनरुत्थानतर्पm उन्मुख हुँदै थियो । कोभिडको दोस्रो लहरका कारण मुलुकको समष्टिगत अर्थव्यवस्था फेरि अनिश्चितातर्फ धकेलिएको गभर्नर अधिकारीले बताए ।

तथापि कोभिड प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति थप प्रभावकारी नीतिगत व्यवस्था अवलम्बन गर्दै जाने कामलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राखेको उनको दाबी छ ।

कार्यक्रममा कोभिड–१९ बाट प्रभावित अर्थतन्त्र र वित्तीय क्षेत्रलाई लक्षित दिशातर्फ अग्रसर गराउन राष्ट्र बैंकले विभिन्न नीतिगत व्यवस्था गरेको गभर्नर अधिकारीले बताए ।

कोभिड संक्रमण यताको अवधिमा तरलताको सहजीकरण, व्याजदर कटौती, अतिरिक्त चालु पुँजी कर्जाको सुविधा, कर्जाको पुनर्संरचना÷पुनर्तालिकीकरण, कर्जाको सावाँ÷ब्याज भुक्तानीको समयसीमा बढाउने जस्ता नीतिगत सहुलियत उपलब्ध गराइएको उनले बताए ।

उनले भने, ‘कोभिड–१९ बाट प्रभावित उद्योग, व्यवसाय, साना तथा मझौला उद्यमको उत्थानको निम्ति कर्जामा सहुलियत दिनेगरी पुनरकर्जा सुविधालाई परिमार्जन गरिएको र पुनरकर्जा कोषको सीमा बढाएर पाँच गुणासम्म बनाइएको छ ।’

यस्तै, कोभिडबाट प्रभावित पर्यटनसँगै घरेलु, साना र मझौला व्यवसायमा जनशक्तिको तलब÷ज्याला भुक्तानीको निम्ति सरकारको सहयोगमा छुट्टै ५० अर्ब रुपैयाँको कोष स्थापना भएको पनि उनले बताए ।

४९ औं सञ्चालक समितिको वैठकबाट एसियन क्लियरिङ युनियनको अध्यक्षता रिजर्व बैंक अफ इण्डिया (आरबीआई) ले पाएको छ । अर्को वैठक आयोजना नभएसम्मका निम्ति आरबीआईले युनियनको अध्यक्षता गर्नेछ ।

युनियनको ५० औं सञ्चालक समितिको वैठक सन् २०२२ जनवरीमा गर्ने निर्णय भएको छ । एसियन क्लियरिङ युनियनमा बङलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी नौ मुलुकका केन्द्रीय बैंक आबद्ध छन् ।

अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यले सन् १९७४ डिसेम्बरमा युनियनको स्थापना भएको थियो । युनियनको सचिवालय इरानको तेहरानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here