उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ, के-के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

फाइलफोटो

काठमाडौं, १४ जेठ । कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा आजदेखि थप कडाइ गरिएको छ । निषेधाज्ञा कडाइको लागि चोक-चोकका प्रहरी परिचालन गरिएको छ ।

झण्डै एक महिनादेखि सुरु भएको निषेधाज्ञाका कारण कोभिड-१९ नियन्त्रणमा केही सफलता प्राप्त गरे पनि आशातीत उपलब्धि हुन नसकेको निष्कर्ष निकालेका प्रशासन कार्यालयले अबको हप्ता भने आदेशको कडाइका साथ कार्यान्वयन गरिने र नमान्नेलाई जेलसम्म हाल्ने गरी प्रस्तुत हुन लागेका हुन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयहरुले अबको एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने विरुद्ध थप कठोर हुने जनाएका छन् ।

बढ्दो संक्रमण रोक्न काठमाडौं प्रशासन कार्यालयले सूचना नै जारी गरेरै कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन अत्यावश्यक रहेका उल्लेख गर्दै उल्लंघन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइसकेको छ ।

यसपाली भने किराना पसल पनि बन्द गरिएको छ । बिहानी बेलुकाको घुमघाममा समेत रोक लगाइएको छ । निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री (तरकारी, फलफूल, दूध, डेरी, मासु, खानेपानी र ग्यास) खरीदबिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ ।

यसअघि बिहान १० बजेसम्म खुला गरिएको थियो । अहिले थपिएका समयमा भने खाद्यान्न, किराना पसल तथा डिपार्टमेन्टल स्टोर्सलगायत अन्य पसल सञ्चालनमा रोक लगाइएको छ ।

विगतमा उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । अहिले तेस्रो पटक म्याद थप गरेर आदेश लागू गरिएको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

सोही अधिकार प्रयोग गर्दै जारी गरिएको आदेशामा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुद सञ्चालन गर्न पाइने छैन ।

औषधी, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दुरी कायम गर्नुपर्ने छ । अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ ।

सार्वजनिक एवम् निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुने छ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, ईन्धन खाना पकाउने ग्याँस, दूरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहरमैला व्यवस्थापन सरफमाईमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।

खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दुरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा व्यानर राखेर राती ९ देखि विहान ९ बजेसम्म गाडी सञ्चालन गर्न पाइने छ । तोकिएको तरकारी बजार बाहेकका क्षेत्रमा विक्री बन्द गर्ने र थोक बजारमा फुटकर विक्री गर्न नदिइने आदेशमा भनिएको छ ।

अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था÷संस्थान, बीमालगायतका कार्यालयको सेवा स्थगन गरिएको छ । सरकारी कार्यालय, संस्थान, बैँक, इन्टरनेट सेवा प्रदायक संस्थाको सवारी साधान विहान ९ः३० देखि १०ः३० र साँझ ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैँकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ ।

त्यस्ता कार्यालय पनि आलोपालो गरी न्युनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । यसअघि २५ प्रतिशत सम्म जनशक्ति राख्न सकिने व्यवस्था थियो ।यस्तै सार्वजनिक तथा निजी विकास निर्माणका काम तथा ढुवानीका सबै गतिविधि सञ्चालनमा रोक लाइएको छ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा ७ जनाभन्दा बढी उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । नित्य पूजा बाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धीत वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here