काठमाडौं, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ महामारीले तहसनहस पारेको उद्योग व्यवसायलगायत आर्थिक क्षेत्रको पुनरुत्थान आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटको प्रमुख उद्देश्य रहेको बताएका छन् ।
सनिबार आगामी आवको बजेट प्रस्तुत गर्दै उनले लोककल्याणकारी भूमिका बढाउने र सामाजिक सुरक्षालाई थप विस्तार गर्ने पनि बताए । साथै स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्ने उद्देश्य पनि बजेटले लिएको छ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा बजेट अध्यादेशहरू जारी गरेसँगै सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो ।
राष्ट्रपति नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश–२०७८, विनियोजन अध्यादेश–२०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश–२०७८ गरी तीन वटा बजेट अध्यादेश जारी गरेकी हुन् ।
संवैधानिक प्रावधानअनुसार सरकारले हरेक वर्षको जेठ १५ गते गणतन्त्र दिवसका दिन बजेट प्रस्तुत गर्नुपर्छ । तर अहिले प्रतिनिधिसभा खारेज भइसकेकाले सरकारले अध्यादेशबाट बजेट ल्याएको हो ।