‘चुनाव जसरी पनि गर्नुपर्छ, यथेष्ट बजेट छुट्याएका छौं’ -अर्थमन्त्री

काठमाडौं, १६ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनका लागि आवश्यक बजेट छुट्याएको बताएका छन्।

शनिबार अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले चुनावको लागि बजेट छुट्याइएन भन्ने भ्रममा नपर्न आग्रह गरे ।

‘लोकतन्त्रको आधारस्तम्भ हो। त्यसैले आगामी निर्वाचन जसरी पनि गर्नुपर्छ, त्यसको लागि यथेष्ट बजेट छुट्याएका छौं उनले भने । ‘

त्यस्तै सरकारले संविधानसम्मत रुपमा नै बजेट ल्याएको दाबी गरे । ‘कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन, ल्याए पनि पूर्ण बजेट ल्याउनु हुँदैन भन्ने बहस सुनियो। यो बहस हुनुलाई मैले सकारात्मक रुपमा लिएको छु,’ उनले भने ।

यो बजेट कार्यान्वयन गरेर पनि देखाउने दाबी गरेका छन् । ‘बजेट कार्यान्वयन गर्ने उद्देश्यका साथ आएको छ । सुनाउनका लागि मात्रै बजेट ल्याएको होइन,’ उनले पत्रकार सम्मेलनमा उनले भने ।

मन्त्री पौडेलले कोडिभ–१९ रोकथाम, उपचार र नियन्त्रणमा बजेट केन्द्रित रहेको बताए । उनले छिटोभन्दा छिटो खोपको प्रबन्ध गर्नेतर्फ सरकार क्रियाशील रहेको पनि बताए ।

‘दक्षिण एसियामा खोप प्रयोग गर्ने दोस्रो मुलुक हौं । सबै नागरिकलाई खोप दिने देशमा पनि अग्रपंक्तिमा हुन्छाैँ,’ उनले दाबी गरे, ‘कोडिभ नियन्त्रण र उपचारमा सम्पूर्ण सामथ्र्य प्रयोग गर्छौ । कोभिड नियन्त्रणमा सफलता प्राप्त हुन्छ । ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here