बजेटप्रति जवाफदेही छौंः अर्थमन्त्री पौडेल

काठमाडौं, १६ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने बताएका छन् ।
आइतबार अर्थ मन्त्रालयमा आयोजित बजेटसम्बन्धी छलफलमा बोल्दै उनले बजेट कार्यान्वयनमा चुनौति रहेको बताउनेहरुलाई सरकारले काम गरेर देखाउने जवाफ दिएका हुन् ।

अर्थमन्त्री पौडेलले सनिबार आगामी आर्थिक वर्ष २०७८।७९ का लागि रु. १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभा भंग भइसकेकाले राष्ट्र«पतिले अध्यादेश जारी गरी गरी बजेट प्रस्तुत गर्ने बाटो खोलेकी थिइन् ।

‘बजेट सुनाउनका लागि होइन । कार्यान्वयनका लागि ल्याइएको हो । हामी बजेटप्रति जवाफदेही छौं,’ उनले भने ।
बजेटको कार्यान्वयनका लागि व्यवस्थित योजना बनाएर अघि बढने उनले बताए ।

अर्थमन्त्री पौडेलले प्रतिनिधिसभा नभएका बेला संवैधानिक प्रावधानअनुसार बजेट प्रस्तुत गरेको उल्लेख गर्दै त्यसमा दुविधा नराख्न आग्रह गरे । कुनै ठाउँमा बसेर केही नेताले वक्तव्य दिँदैमा सरकारको बैधानिकता खण्डित नहुने उनको भनाइ थियो ।

अर्थमन्त्री पौडेलले संविधानअनुसार ल्याउनै पर्ने भएर जेठ १५ गते बजेट ल्याएको भन्दै मतदाता प्रभावित गर्नका लागि बजेट नल्याएको पनि दाबी गरे ।

कोभिड–१९ ले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने गरी बजेट आएको भन्दै उनले समयमा खोप ल्यायो भन्ने गरी काम गर्ने पनि बताए ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका साथै खोपको व्यवस्था गरेपछि आर्थिक पुनर्उत्थान हुने विश्वासकासाथ बजेट आएको बताए ।

राजस्व सचिव रामशरण पुडासैनीले नयाँ कर लगाएको नभइ कानून बमोजिम सामान्य समायोजन गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here