संक्रमणदर अझै ३० प्रतिशत माथि, पीसीआर परीक्षण दोब्बर घटाएर संक्रमित कम देखाउँदै

काठमाडौं, १६ जेठ । आइतबार नेपालमा कोरोना संक्रमितको संख्या एक्कासी घटेसँगै सर्वसाधारणमा खुशी छाएको छ ।

दिनहुँ ७/८ हजार कोरोना संक्रमित थपिएका समाचारहरु पढि/सुनि रहेका सर्वसाधारण एकैदिन ४३६९ जना मात्र संक्रमित थपिएसँगै संक्रमण दर घटेको ठानेका छन् ।

तर घट्नुको पछाडि संक्रमणदर घटेका कारण नभई पीसीआर परीक्षण कम हुनु रहेको छ । दैनिक १८/ २० हजारको हाराहारी भैरहेको परीक्षण आइतबार भने १२७७० मात्र भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४३६९ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४३६९ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकमा दैनिक पहिचान हुने संक्रमितको संख्या करिब ५० प्रतिशतले घटेको छ ।

पछिल्लो १० दिनको तथ्यांक हेर्दा पीसीआर परीक्षण संख्या क्रमश: घट्दै गएको छ । पीसीआर घट्नु नै संक्रमणको दर घट्नु हो ।

संक्रमणदर अझ पनि ३० प्रतिशतभन्दा माथि नै रहेको छ। आइतबारको संक्रमणदर ३३.७० प्रतिशत रहेको छ। पछिल्लो साताको तथ्यांक हेर्दा नयाँ संक्रमित थपिने क्रम निरन्तर घटेको देखिन्छ।

हिजो (शनिबार) १४ हजार ७ सय ५२ जनाको परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भयो। अर्थात ३०.४१ प्रतिशतमा संक्रमण देखियो। अघिल्लो सातासम्म परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई संक्रमण देखिने गरेको थियो।

वैशाख २८ गते एकै दिन हालसम्मकै सबैभन्दा बढी, नौ हजार ४८३ संक्रमित थपिएको तथ्यांक छ। उक्त दिन २० हजार ५९६ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको थियो।

जेठ ७ गते २२ हजार ३५३ जनाको पीसीआर परीक्षण गरिएकोमा जेठ १६ मा आइपुग्दा यो संख्या १० हजार ९८६ मा झरेको छ। जेठ ७ को तुलनामा जेठ १६ मा भएको पीसीआर परीक्षण संख्या ११ हजार ३६७ न्यून हो।

वैशाख दोस्रो सातादेखि बढ्न थालेको संक्रमण दर महिनाको अन्तिमसम्म आइपुग्दा संक्रमणको स्थिति निकै नै भयावह भयो।

अक्सिजनको चरम अभावका कारण कतिले भर्ना पाएनन् र केहीले बाटोमै ज्यान गुमाए। अहिले पनि धेरै अस्पतालमा संक्रमितको चाप उस्तै छ। तर पछिल्लो सातादेखि भने अस्पतालहरूमा बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपर्ने स्थिति छैन।

आइतबार सम्ममा नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ५७ हजार १२४ पुगेको छ । त्यसमध्ये ४ लाख ४० हजार ९२५ जना संक्रमण मुक्त भएका छन् ।

७ हजार २७२ जनाको निधन भएको छ । अन्य भने विभिन्न अस्पताल तथा होम आइसोलेशनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here