कोरोनाका भेरियन्टको नयाँ नाम, नेपालमा फैलिएको ‘डेल्टा’, युके भेरियन्टलाई ‘अल्फा’

काठमाडौं, १८ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड-१९ को नयाँ भेरियन्टको नामाकरण गरेको छ।

विभिन्न मुलुकमा नयाँनयाँ भेरियन्टहरु देखिन थालेपछि डब्ल्यूएचओले तिनको नामाकरण गरेको छ ।

यसअघि जुन देशमा भेटिएको हो त्यही देशको नाम जोडेर भेरियन्टको नाम राखिने गरेकोमा अब नयाँ नाम राख्ने निर्णय डब्लुएचओले गरेको हो।

अबदेखि डब्ल्यूएचओले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर नामांकरण गरेको छ ।

अब बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा हुने भएको छ। यसअघि बेलातयमा भेटिएको कोभिड-१९ भाइरसलाई युके भेरियन्ट भन्दै आएका थिए।

त्यसैगरी दक्षिण अफ्रिकाको बेटा, ब्राजिलको गामा र भारतमा भेटिएको भेरियन्टको नाम डेल्टा हुने भएको छ। भारतमा भेटिएको नयाँ भेरियन्ट (B.1.617.2)लाई इन्डियन भेरियन्ट नाम राखिएको थियो। नेपालमा भेटिएको नयाँ भेरियन्ट पनि (B.1.617.2) नै भएको बताइन्छ।

अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएका तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरियन्टलाई जनाउनेछन्। तिनका नामहरूको पूर्ण विवरण डब्ल्यूएचओको वेबसाइटमा राखिएको छ।

यी ग्रीक अक्षरहरूले ती भेरियन्टको पूर्ण वैज्ञानिक नामलाई विस्थापन भने गर्ने छैनन्। कर्खोभका अनुसार यदि २४ भन्दा धेरै भेरियन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ।