महामारीबीच एक सातामा १० अर्ब कर्जा लगानी, निक्षेप संकलन कति ?

काठमाडौं, १८ जेठ । कोभिड-१९ को दोस्रो लहरको प्रभाव बैंक तथा वित्तीय संस्थामा समेत परेको छ ।

पछिल्लो समय कर्जा लगानीमा आक्रामक देखिएका बाणिज्य बैंकहरु निषेधाज्ञासँगै सुस्ताएका छन् । कोरोना महामारीबीच जेठको दोस्रोसातामा भने वाणिज्य बैंकहरुको कर्जा लगानी बढेको छ।

जेठको दोस्रो साता (जेठ ८–१४ गते) वाणिज्य बैंकहरुको कर्जा लगानी १० अर्ब रुपैयाँले बढेको हो। जेठको पहिलो साता पनि वाणिज्य बैंकहरुले ५ अर्ब कर्जा लगानी गरेका थिए।

निषेधाज्ञाका कारण वाणिज्य बैंकहरुको निक्षेप संकलन भने प्रभावित भएको छ। तथ्यांक अनुसार जेठको पहिलो साताको तुलनामा दोस्रो साता (जेठ ८–१४) गतेसम्म निक्षेप ५ अर्ब रुपैयाँले घटेको छ।

जेठको पहिलो साता पनि बैंकले ६ अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका थिए। हालसम्म बैंकको कुल निक्षेप ३९ खर्ब ५६ अर्ब रुपैयाँ रहेको छ।

चालू आर्थिक वर्षको हालसम्म बैंकहरुको कुल कर्जा लगानी भने ३६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ।

निषेधाज्ञाका बेला बैंकका सीमित शाखा खुल्नु, मानिसको आवतजावत ठप्पप्रायः हुनु तथा बन्दाबन्दीका बेला औषधि र घर खर्चका लागि मानिसहरुले नगद घरमै राख्नु आदि कारणले निक्षेप संकलन घटेको बैंकरहरु बताउँछन्।