कोभिड–१९ बाट ७० प्रतिशत उद्योग व्यवसाय प्रभावितः उद्योग वाणिज्य महासंघ

काठमाडौं, १८ जेठ । कोभिड–१९ महामारी र हाल जारी बन्दाबन्दी तथा निषेधाज्ञाका कारण मुलुकका करीब ७० प्रतिशत उद्योग व्यवसायमा प्रत्यक्ष प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ ।

सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसंग जारी बन्दाबन्दी र निशेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन सम्वादबाट उसले यस्तो निश्कर्ष निकालेको उसले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेशगत रूपमा प्रदेश १ मा ८२.७ प्रतिशत, गण्डकीमा ७५ प्रतिशत, बागमतीमा ६९ प्रतिशत, प्रदेश २(६९∞), लुम्बिनीमा ६४.५, सुदूरपश्चिममा ५७.७ प्रतिशत र कर्णालीमा ४५.५ प्रतिशत उद्योग व्यवसाय महामारी र बन्दबन्दीबाट प्रभावित भएको महासंघको निश्कर्ष छ ।

‘खाद्यान्न, स्वास्थ्यसम्बन्धी, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषि बाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प छन् । पसलहरू विहान ३–४ घण्टा मात्र खुल्ने गरेका छन् । उद्योग व्यवसाय चलाउने लाखौं मानिसहरू घरभित्र थुनिएर बसेका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

यो बेलामा उद्योग व्यवसाय भन्दा पनि सामाजिक भावनाअनुरूप आम नेपालीको स्वास्थ्य बचाउनु ठूलो कुरा भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको उसले बताएको छ ।

कोभिड महामारीको चपेटामा उद्योगी व्यवसायीहरू पनि परेका छन् । कतिपय उद्योगी व्यवसायीको कोभिडकै कारण ज्यान समेत गैसकेको उसको भनाइ छ ।

यस्तो अवस्थामा पनि आइशोलेशन निर्माण, संचालन, स्वास्थ्य सामग्रीहरूको व्यवस्था, अक्सिजन÷कन्सन्ट्रेटर लगायतका अत्यावश्यक औषधिहरूको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापना मार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्रीहरू हस्तान्तरण, हेल्प डेस्क जस्ता कार्यमा व्यवसायीहरु जुटिरहेको महासंघले बताएको छ ।

त्यस्तै स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, विरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, वेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रवन्ध, जनचेतना विस्तारमा पनि निजी क्षेत्र खटिरहेको उसले जानकारी दिएको छ ।

करीब १ सय वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरू यतिवेला कुनै न कुनै रूपमा मानवीय सहायता जोडिएको उसको भनाइ छ । काठमाडौंलगायत शहरमा महासंघले आइशोलेशन केन्द्रहरु चलाएको छ भने विरामीहरूको सहयोगका लागि हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्र सञ्चालन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here